
गोरखाको नारेश्वरमा चोरीका घटना बढ्यो
गोरखा सदरमुकामबाट नजिकै रहेको नारेश्वरमा केही समययता चोरीका घटना बढिरहेका छन् ।
लकडाउनको अवधिमा मात्र छ वटा घर फुटाएर चोरी भएको स्थानीयबासी बताउँछन् ।
पछिल्लो पटक गत मंगलबार राती स्थानीय प्रेमबहादुर थापाको घरबाट धनमाल चोरी भएको छ ।
घरमा कोही पनि नभएको मौका छोपी घर फुटाएर छ वटा कोठामा रहेका नगद तथा जिन्सी सामान चोरी भएको थापाले जानकारी दिए ।
‘३२ हजार रुपैयाँ नगद, महेन्द्र मल्ली लगायतका प्राचीन सिक्का, सुन, चाँदीका गहना, पदक तथा तक्माहरु चोरी भए’, थापाले भने, ‘प्रहरीलाई खबर भएको छ । जनप्रतिनिधिको रोहबरमा मुचुल्का पनि भएको छ ।’
यसअघि होमनाथ तिवारी, करुणानिधि कोइराला, वसन्त तिवारी, ज्योति कोइराला र कृष्णबहादुर थापाको घरबाट पनि चोरी भएका उनले बताए ।
‘लकडाउन मौका छोपी चोरी डकैती बढेको छ’, उनले भने, ‘सदरमुकामको नजिकै पनि यसरी चोरी डकैती बढिरहँदा पनि प्रहरी प्रशासनले यथासीघ्र घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको महशुस भएको छ ।’




