
गुपचुपमै श्रृङ्खलावद्ध हत्या
दुईहप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीकी ५० बर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यू भयो । कुटपिट गर्ने पक्षले उनका परिवारलाई दुईलाख रुपैयाँ थमाए । घटना सामसुम भयो ।
चार घण्टा पर रहेको प्रहरी चौकी नाम्रुङले यत्तिका दिनसम्म घटनाबारे केही पत्तो पाएको छैन । जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय पनि यसबारे अनभिज्ञ छन् ।
गत असारमा यार्सागुम्बा संकलन गर्न गएका सोही गाउँका दुईजनामध्य टसी दोर्जे फर्किएनन् । सँगै गएकाले टसी दोर्जेको परिवारलाई दुईलाख रुपैयाँ तिरे । सो घटना पनि सामसुम भयो ।
यी दुई त ताजा घटना हुन् । बिगत १५ बर्षयता बिही गाउँमा आठवटा भन्दा धेरै यस्ता घटना सामसुम भएका छन् । कतिपय घटनाका दोषी प्रष्ट भएर पनि गुपचुप बनाइएका छन्, कतिपय रहस्यको गर्भमै छन् ।
अपराध गर्नेको बिपक्षमा बोल्न सक्ने हिम्मत गाउँमा कसैको नभएको स्थानीयबासीको दुखेसो छ । ‘बोलौँ भने हामीलाई पनि ज्यानको माया लाग्छ’, एक स्थानीय नाम नखुलाइदिन अनुरोध गर्दै भन्छन्, ‘अपराधी जरा गाढेर बसेको छ । दिनदहाडै हत्या गरेको देखेपछि को बोल्न सक्छ र ?’
२०६२ सालको माघ १२ गते बिहीका घरभित्रै घाँटी रेटेर सोनाम छिरिङको हत्या भयो ।
२०६४ सालमा सोनाम ग्याल्बोको टाम्लिङ भीरबाट खसालेर हत्या भएको स्थानीयबासी बताउँछन् । घटनामा संलग्नको आशंकमा दुईजनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याउँदै गर्दा प्रहरीको नियन्त्रणबाट मुक्त गरेर फिर्ता गरिएको स्थानीयबासी बताउँछन् ।
गाउँमा भएको भ्रष्टाचारको विद्रोह गर्ने बिहीको कोया गाउँका एक युवाको न्याकफेदीमा शव भेटियो । कुनै छानबिनै नभई अन्त्येष्टि गरियो । जडिबुटी संकलन गर्न गएका दुईमध्य बिहीफेदीका फु तेञ्जिन फर्किएनन् । छ्योतुम्बु गुम्बाको मेल भर्न गएकी बिहीकै रानागाउँकी एक युवतीको शव खोल्सामा भेटियो । कुनै घटनाको पनि कसैले खोजीनीति गरेनन् ।
गाउँमा श्रृङ्खलावद्ध रुपमा अपराधजन्य घटना भइरहे पनि कसैले अनुसन्धान गर्न पहल गरेका छैनन् । ‘प्रहरीलाई खबर गर्यो भने पनि एक न एकदिन उ निस्किएर आइहाल्छ ।
अनि उ आएपछि आफू पनि रहने सम्भावना हुदैन’, एक स्थानीय भन्छन्, ‘त्यसैले कसैले पनि प्रहरीलाई खबर गर्ने हिम्मत गर्दैनन् ।’ अपराधको घटना भएपनि कुनै रहस्यकै गर्भमा रहने, कुनै घटनाको रहस्य खुल्यो भने मृतकका आफन्तलाई पैसा दिएर थामथुम पार्ने गरेको उनको भनाइ छ ।




