
विदेशमा कोरोनाका कारण यो साता थप ४३ नेपालीको मृत्यु, मृतक संख्या २४३ पुग्यो
विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको छ।
यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए।
गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ।
यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिंह राजपुतले जानकारी दिए।
यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना संक्रमणदर सामान्यरूपमा वृद्धि भएको छ।
समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना–१९ बाट संक्रमित छन्।
कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।




