
सिर्दिबासको गमपुलमा पहिरो, पदमार्ग जोखिम
मनास्लु पदमार्गको चुम उपत्यका र नुब्री क्षेत्र छुट्निे ठाउँमा ठूलो पहिरो जाँदा पदमार्ग जोखिम बनेको छ । चुमनुब्री गाउँपालिका ३ स्थित गमपुलको केही तल न्याकतर्फबाट झरेको ठूलो पहिरोले बूढीगण्डकी थुनेपछि नदीको दुवैतर्फबाट पहिरो झर्ने काम भइरहेको स्थानीय दीपेन्द्र गुरुङले जानकारी दिए ।
‘पहिरोले केहीबेर बूढीगण्डकी थुनियो । पछि खुल्न त खुल्यो तर नदीको दायाबायाँ ठूलो पहिरो झर्यो । रुखहरु पनि ढले । बाटो सबै लग्यो’, उनले भने, ‘हामी स्थानीयबासी १०÷१५ जना मिलेर एउटा कामचलाउ बाटो खुलायौँ । तर धेरै घुमाउरो छ । बटुवालाई १५÷२० मिनेट उकालो उक्लिएर फेरि ओर्लिनुपर्छ ।’

बूढीगण्डकी तालिएर जमिन कमजोर बनाएकाले अझै धेरै ठाउँमा पहिरो झर्ने अबस्था रहेको वडा नं. ४ का अध्यक्ष पेमा डुण्डुप लामाले बताए । ‘न्याकतर्फबाट पहिरो झर्ने क्रम अझै रोकिएको छैन । ढुंगा पनि झरिरहेको छ । बूढीगण्डकी तालिएर धन्नै पुल समेत भेटिसकेको रहेछ’, सोही बाटो हिडेर फिलिम पुगेका उनले भने, ‘बैकल्पिक बाटो त बनाएको रहेछ, तर तालिएको पानीले माटो सबै गलिसकेको छ । पहिरोको खतरा उत्तिकै छ ।’ सो पदमार्ग अहिले हिड्नलायक नरहेको उनले बताए ।

सो बाटो हुदै चुमनुब्री गाउँपालिकाको वडा नं. १ को सामागाउँ, साम्दो, वड नं. २ को ल्हो, ल्ही, स्याला, स्यो, वडा नं. ३ को न्याक, वडा नं. ४ को प्रोक, नाम्रुङ, क्वाक, छाक, गप, वडा नं. ५ को बिही, ड्याङ, क््रयाक, वडा नं. ६ को लोक्पा, चुम्लिङ, चुम्चेत, सिप्चेत र वडा नं. ७ को छेकम, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, फुर्पे, छुले र नीले गाउँका बासिन्दा आवतजावत गर्ने गर्छन् । गमपुल पहिरोका कारण उनीहरुलाई आवतजावत गर्न सास्ती भएको स्थानीयबासीको गुनासो छ ।
तस्वीरहरु सबै : ल्हाक्पा लामा (सरोज)को फेसबुकबाट ।




