| आइतवार, कार्तिक २२, २०८३

गोरखा जिल्लाभर एक सातासम्मका लागि निषेधाज्ञा

 

जिल्ला प्रशासन कार्यालय गोरखाले एकसातासम्मका लागि निषेधाज्ञाआव्हान गरेको छ । कोरोना संक्रमण रोकथाम, न्यूनिकरण तथा नियन्त्रण गर्ने उद्देश्यका साथ निषेधाज्ञा आव्हान गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

‘कोभिड १९ को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अबस्थालाई मध्यनजर गर्दै यो रोग रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाई नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गर्न भदौ १ गते बिहान ६ बजेदेखि सात गर्ते राती १२ बजेसम्मका लागि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लागु गरिएको छ’, सो सूचनामा भनिएको छ । निषेधाज्ञाको अवज्ञा गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा पनि सूचनामा उल्लेख छ ।

निषेधाज्ञा अवधिभर नीजि तथा सार्वजनिक सवारी साधन चलाउन नपाउने उल्लेख छ । त्यस्तै वैँक तथा वित्तीय संस्था, सामाजिक संघसंस्थाहरु पनि सञ्चालन गर्न नपाउने निषेधाज्ञामा उल्लेख छ । त्यस्तै होटल, रेष्टुरेण्ट, व्युटिपार्लर, सैलुन, जीपखाना, कपडा पसल, हार्डवायर पसल, सुनचाँदी, टेलरिङ, फुटपाथ पसलहरु पनि सञ्चालनमा निषेध गरिएको छ ।

त्यस्तै अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि निषेधाज्ञामा उल्लेख गरिएको छ । अत्यावश्यक काम परेर निस्कनै परेमा मास्क लगाउनु पर्ने, व्यक्तिगत दुरी कायम गर्नुपर्ने, खेलमैदान, सडक, चोक, धार्मिक, सांस्कृतिक स्थलहरुमा भेला हुन नपाउने पनि सूचनामा उल्लेख छ ।

निषेधाज्ञाअवधिमा पनि केही अत्यावश्यक सेवालाई भने खुल्ला गरिएको सूचनामा उल्लेख छ । एम्बुलेन्स, शव बाहन, औषधी बोक्ने बाहन, खाद्यान्न, तरकारी तथा फलफूल बोकेको सवारी साधन, पानी, दूध, पेट्रोल ट्याङ्कर, चल्ला तथा माछाका भुरा तथा तिनका लागि दाना बोक्ने सवारी साधन, सरकारी प्लेटको सवारी साधन, झण्डाबाहक, कुटनीतिक नियोगका सवारी साधन, सञ्चारकर्मी र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधन चल्न पाउने व्यबस्था छ ।

त्यस्तै स्वास्थ्य सेवा, सुरक्षा सेवा, विद्युत सेवा, सञ्चार सेवा, खानेपानी सेवालाई पनि निर्वाध सञ्चालन हुन दिने निषेधाज्ञाको सूचनामा उल्लेख छ । औषधी तथा औषधीजन्य पसल, खाद्यान्न, तरकारी, फलफूल पसल, दूध, डेरी पसल, पेट्रोल तथा ग्याँस डिपो बिहान छ देखि १० बजेसम्म र साँझ चार बजेदेखि सात बजेसम्म खुल्न दिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्