
‘जिस्क्याएको निहुँमा युवाले वृद्धालाई मारेको बुझियो’ःप्रहरी
दराैँदी समाचारदाताः शहिदलखन गाउँपालिका ३ मनकामनाकी ७१ वर्षिया कृष्णकुमारी आलेको हत्या अभियोगमा पक्राउ परेका १७ वर्षका युवकलाई प्रहरीले सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । सोमवार पत्रकार सम्मेलन गर्दै प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले ती युवाविरुद्ध जिल्ला अदालत गोरखामा कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा युवकले आवेगमा हत्या गरेको स्विकारेको पत्रकार सम्मेलनमा एसपी गुरुङले बताए ।
ती युवकले आफु गोठालो गएको बेला वृद्धा महिला खेतमा जाँदा बाटोमा चिप्लिएको देखेपछि आफु हाँसेको र महिलाले बुढी मान्छेले किन हाँसेको भन्दै गाली गरेको बताएका छन् । वृद्धा लडेपछि उठाउन गएको र वृद्धाले ‘बुढी मान्छे लडेको देखेर हाँस्छस् भन्दै गाली गरेपछि युवकले ढुङ्गा प्रहार गरेको स्विकार गरेका प्रहरीले जनाएको छ ।
वृद्धा मरेपछि घिसार्दै लगेर १० मिटर तल झाडीमा छोपेर युवा सोही दिन देखि फरार रहेका थिए । प्रहरीले मझुवा र शहिदलखन जोड्ने दरौँदी नदी माथिको पक्की पुलछेउबाट ती युवकलाई पक्राउ गरेको हो ।
ती युवक यस अघि पनि जवरजस्ती करणीको प्रयास अभियोगमा पक्राउ परेका थिए ।
१८ वर्ष उमेर नपुगेको भन्दै प्रहरीले नाम भने सार्वजनिक गरेको छैन । स्थानीयले सामाजिक सञ्जालमा फोटो सहित नाम उल्लेख गरेपछि आइतवार नै सञ्चार माध्यममा पनि नाम सहित तस्विरहरु प्रकाशित भएका थिए । प्रहरीले अहिले पनि उमेर नपुगेकाले नाबालक रहे अनुसार अनुन्धान गरी अघि बढ्ने जनाएको छ ।




