
बारपाक सुलीकोट तीनखण्डेको चार घर बगायो, आठ घर बिस्थापित
दराैँदी समाचारदाताः बारपाक सुलीकोट गाउँपालिका वडा नं. ८ को तीनखण्डेका चार घर पहिरोले बगाएको छ । लगातारको बर्षापछिको पहिरोले मङ्गलबार स्थानीय लालप्रसाद भट्टराई, गोकणर् भट्टराई, मायादेवी भट्टराई, जीवनाथ भट्टराईको घर बगाएको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । पहिरोले बगाएको चार घर र जोखिममा रहेका चार गरी आठ घरका बासिन्दा बिस्थापित भएका वडा अध्यक्ष गुरुङले जानकारी दिए ।
लीलाकुमारी पाण्डे, जनक पाण्डे, सुमित्रा पाण्डे र सन्तोष पाण्डेको परिबार पनि बिस्थापित भएको उनले बताए ।
बिस्थापित परिबारलाई नेपाल रेडक्रस गोरखा शाखाले स्थानीय उपशाखासँग समन्वय गरी राहत सामग्री प्रदान गरेको छ ।
‘आठवटै घर परिबारलाई हामीले ओढ्ने, ओछ्याउने, पकाउने, चलाउने सामग्री, त्रिपाल उपलब्ध गराएका छौं’, रेडक्रसका सुवास घिमिरेले भने ।
उनीहरुलाई स्थायी तरिकाले पुनस्थापित गर्नुपर्ने अबस्था रहेको उनले बताए ।




