| आइतवार, कार्तिक २२, २०८३

मंगलवार पहिरोले कहाँ कति क्षति !

दराैँदी समाचारदाताः वर्षातपछिको पहिरोले मंगलवार गोरखाको बिभिन्न ठाउँमा क्षति पुगेको छ । गोरखा(खैरेनी सडकको एघार किलो भन्ने ठाउँमा चार मिटर सडक भासिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । गोरखा नगरपालिका ८ का दिपक खत्रीको घरमा पहिरो पसेर क्षति पुगेको पनि कार्यालयले जनाएको छ ।
गोरखा नगरपालिका १३ अँबुवामा टिकामाया रानाको भुकम्पछि पुन निर्माण भएको घर भासिएको छ । घर भासिएपछि रानाको परिवार छिमेकीको घरमा बसेका छन् । सेन्ट जोसेफ विद्यालय पछाडि २० मिटर पर्खाल भत्किएको छ । गोनपा ८ मा ज्ञानमाया श्रेष्ठको दुई तले घर पछाडिको पर्खाल भत्किएर एउटा कोठा भत्किएको छ भने घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोही वडाको रणबहादुर अधिकारीको घर जोखिममा परेपछि घरका सात जना सदस्य छिमेकीकहाँ बसेका छन् । गोरखा नगरपालिका ४ का लाकुरी स्वाँरामा कृष्णबहादुर गुरुङ मोहनबहादुर गुरुङ, भिमबहादुर गुरुङ, बिजय गुरुङ, नबिन आलेको घर पहिरोको उच्च जोखिममा रहेको छ । गोनपा ९ टक्सारमा पहिरो जाँदा चार वटा घर जोखिममा रहेको र ति घरमा १५ जनालाई आफन्तकहाँ सारिएको छ ।

पालुङटार वडा नम्बर ६ मा पहिरोका कारण सात घर जोखिममा परेका छन् । रामबहादुर गुरुङ, लेखबहादुर गुरुङ, लालिमाया गुरुङ, होमबहादुर गुरुङ, सरस्वती बिक, ओमबहादुर रिमाल, केशरबहादुर थापाको घर जोखिममा परेको नगरपालिकालाई उदृत गर्दै जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी हर्क रोकाले बताए । सोही नगरपालिकाको वडा नम्बर ७ अवण्डामा हिलो लेदो माटो घरभित्र छिरेपछि तीनवटा घरका परिवार बिस्थापित भएर छिमेकीको घरमा सरेका छन् ।
बारपाक सुलिकोट ६ केउरपानीका बुद्धिबहादुर रानाको घरमा पहिरोको जोखिम भएपछि उनी मंगलवार घर छाडेर अन्यत्र सरेका छन् ।

आफन्तको घरमा चार सदस्यले आश्रय लिएर बसिरहेको गाउँपालिकाले जनाएको छ ।

सोही पालिकाको वडा नम्बर ८ तीनखण्डेमा लालप्रसाद भट्ट, गोकणर्प्रसाद भट्ट, गोबिन्द भट्ट, मायादेवी भट्टको घर पहिरोको जोखिममा परेको छ । पहिरोले घर जोखिममा पारेपछि चार घरका २४ सदस्य समस्यामा परेका छन् । भुकम्पपछि बनाएको नयाँ घर जोखिममा परेको हो ।

शहिदलखन गाउँपालिका वडा नम्बर २ सिम्लेमा धनबहादुर गुरुङको गोठमाथि पहिरो खस्दा दुईवटा गाई र गोरु पुरिएको छ ।

आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने बूढीगण्डकी नदी पार गर्ने पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
सिरानचोक गाउँपालिका ४ चोरकाटे नजिकै पहिरो जाँदा बाह्रकिलो बारपाक सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्