| आइतवार, कार्तिक २२, २०८३

अन्तिम गाउँ छुलेका बासिन्दा थातथलो छोड्ने तरखरमा

 

तिब्बतको सीमानामा रहेको गोरखाको अन्तिम गाउँ छुलेका ४५ घरधुरी थातथलो छाड्ने तरखरमा छन् ।

गाउँभन्दा माथिको डाँडाबाट ठूलो पहिरो झर्न थालेपछि गाउँले अन्यत्र सर्ने तयारी गरिरहेको चुमनुब्री गाउँपालिका ७ का वडाअध्यक्ष पासाङफुञ्जो लामा बताउँछन् ।

‘हिमालभन्दा अल्लिमुनि गाउँभन्दा माथिको एउटा डाँडाबाट पहिरो झर्न थालेको छ । अहिले चारभागको एक भाग झरेको छ । तीनभाग झर्न बाँकी छ’, उनले भने, ‘त्यो झरेपछि छुले गाउँको एउटा घर पनि बाँकी रहँदैन । त्यसैले गाउँले डराएर सर्न ठाउँ खोजिरहेका छन् ।’ कुनै दिन ठूलै दुर्घटना हुने आशंकाले ठाउँ खोजेर सर्न सुझाव दिएको उनले बताए ।

स्थानान्तरणका लागि जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारीसँग परामर्श गरेका छन् । दुर्घटना हुने सम्भावना देखिन्छ भने समयमै सर्न आफूले सुझाव दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘आफ्नै वडाभित्र स्थानान्तरणका लागि वडास्तरकै निर्णयले हुन्छ । गाउँपालिकासँग समन्वय गरी सुरक्षित स्थलतर्फ सर्न सुझाव दिएको छु’, प्रजिअ पौडेलले भने ।

छुले गाउँको माझबाट सो खोला बगेको छ । यसअघि पनि छुले खोलाले सो गाउँका सात घर बगाएको थियो । यसबर्ष पनि सो खोलाले छ वटा पुल बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्