
पहिरोका कारण पिसिआर संकलन पनि अबरुद्ध
तीनदिनदेखिको अविरल बर्षापछिको पहिरोले गोरखामा स्वाब संकलनको काममा समस्या आएको छ । सङ्कलित स्वाब परीक्षणका लागि काठमाडौं, पोखरा पठाउन पनि नसकिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
सोमबार २३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमडौं पठाउन लाग्दा पहिरोका कारण रोकिएको उनले बताए । ‘गोरखा क्याम्पस आइसोलेशनमा रहेका छ जनाको र अजीरकोट गाउँपालिकाका क्वारेण्टाइनमा रहेका १७ जनाको स्वाव काठमाडौं पठाइएको थियो तर अँबुवाबाट फिर्ता भयो’, उनले भने, ‘काठमाडौं, पोखरा, चितवन जाने सडक जताततै पहिरो झरेर बाटो अबरुद्ध भयो । अब कहीँ पठाउन पनि पाइएन ।’ पहिरो पन्छाउने बित्तिकै स्वाब संकलन गर्ने तथा परीक्षणका लागि पठाउने उनले बताए ।
गोरखाबाट आँबुखैरेनी जाने सडकको ११ किलोबजारमा सडक खोल्सीमा भासिएको छ । मंगलबार दिनभर सो सडक खनेर पहिरो पन्छ्याउने र गाडी चल्न मिल्ने बनाउने प्रयास भइरहेको छ । त्यस्तै सडकमाथिबाट झरेको पहिरोले ८ किलो लगायतका ठाउँमा पनि सडक अबरुद्ध छ ।
त्यस्तै गोरखा बारपाक सडक, गोरखा आरुघाट सडक, गोरखा पालुङटार सडक, गोरखा भच्चेक सडक लगायतका मुख्य सडकहरु दर्जनौँ ठाउँमा अबरुद्ध भएका छन् । पहिरोले साना, ठूला प्राय सबै सडक अबरुद्ध भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




