
आँबुखैरेनी गोरखा सडक अबरुद्ध, बारपाक सुलीकोटका ४९ घर बिस्थापित
तीनदिनदेखिको अविरल बर्षाका कारण आँबुखैरेनी गोरखा सडक अबरुद्ध भएको छ । बिभिन्न ठाउँमा पहिरो जाँदा सडक अबरुद्ध भएको प्रहरी एसपी सुरन्द्र गुरुङले जानकारी दिए ।
‘एघारकिलोको सेण्टजोसेफ स्कुल गेटनेर खोल्सामा सडक भासिएको छ’, उनले भने, ‘खोल्साको बाढीले ११ किलो बजारका दुईवटा घर जोखिम भएको छ । खोल्सामा ह्युमपाइप राखेर बाटो खुलाउने प्रयास भइरहेको छ ।’
आठकिलोमा पनि पहिरोले सडक अबरोध गरेको र खुलाउने प्रयत्न भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै तीनदिनदेखिको अबिरल बर्षाले बारपाक सुलीकोटका गाउँपालिकाका बिभिन्न ठाउँका ४९ घरका बासिन्दा बिस्थापित भएका छन् । धेरै ग्रामीण सडक अबरुद्ध भएका छन् । लघु जलविद्युतका कुलोहरु पहिरिएका कारण विद्युत गाउँबस्तीमा विद्युत तथा सञ्चार सेवा पनि अबरुद्ध भएको गाउँपालिकाका प्रमुख विष्णु भट्टले जानकारी दिए ।
वडा नम्बर १ को तसरागाउँका १० घर यसअघिदेखि नै बिस्थापित भएका अध्यक्ष भट्टले बताए । त्यस्तै वडा नं ३ को चिसापानी आशाभित्ताका तीन घर बिस्थापित भएका छन् । वडा नं ४ को नालपाङका दुईघर, जेडाँडाका एक घर र सौरपानी भञ्ज्याङका दुई घर बिस्थापित भएका अध्यक्ष भट्टले जानकारी दिए ।
त्यस्तै वडा नं. ५ का डुम्रीस्वाँरा, ढकालगाउँ र थालेका तीनघरका बासिन्दा पनि बिस्थापित भएका छन् । वडा न. ६ मसारका छ घरबा बासिन्दा बिस्थापित भएका छन् । त्यस्तै वडा नं. ७ ग्याजीका तीन घर, डुम्रे, धारापानी, पारिगाउँ र बालुवाका चार घरका बासिन्दा पनि बिस्थापित भएका उनले बताए ।
वडा नं. ८ तीनखण्डेका सात घर, जराङ र भुजेल गाउँका छ घर र दलितगाउँका दुई घर पनि बिस्थापित भएका अध्यक्ष भट्टले बताए ।
गाउँपालिकाको केन्द्र रहेको ताकुकोट र सौरपानी जोड्ने सडकका अनगिन्ती ठाउँमा पहिरो गएका कारण आवतजावत बन्द रहेको छ । त्यस्तै चनौटेबाट गाउँपालिका जाने सडक पनि पनि अवरुद्ध छ । एघारकिलो बारपाक सडकको झ्याल्ला खण्डमा ठूलो पहिरो जाँदा बारपाक सडकमा पनि यातायात नचल्ने उनले बताए ।
तस्वीर : अनील कुँबर




