
मंगलबार एकैदिन २१ जना कोरोनामुक्त
गोरखामा मंगलबार एकैदिन २१ जना कोरोनामुक्त भएका छन् । गोरखा क्याम्पसस्थित आइसोलेशनमा उपचाररत छवटा पालिकाका १९ पुरुष र दुई महिला कोरोनामुक्त भएका गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिए ।
उनका अनुसार मंगलबार कोरोनामुक्त हुनेमा ११ जना भीमसेनथापा गाउँपालिकाका रहेका छन् । सो गाउँपालिकाका दुई महिला र नौ पुरुष कोरोनामुक्त भएका अर्यालले बताए ।
त्यस्तै गोरखा नगरपालिकाका दुईजना र पालुङ्टार नगरपालिकाका तीनजना पनि मंगलबार कोरोनामुक्त भएका छन् ।
शहीदलखन गाउँपालिकाका तीनजना, अजीरकोट गाउँपालिकाका एक जना र बारपाक सुलीकोट गाउँपालिकाका एक जना पनि मंगलबार कोरोनामुक्त भएर घर फर्किएका अर्यालले बताए ।
सम्बन्धित गाउँपालिकाको क्वारेण्टाइनमा स्वाव परीक्षण गर्दा कोरोना संक्रमण देखिएका उनीहरुमा आइसोलेशनमा दुई पटकसम्म स्वाव परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको उनले बताए । उनीहरु सबैलाई घरमा १४ दिनसम्म क्वारेण्टाइनमा रहन आग्रह गरिएको छ ।
गोरखामा अहिलेसम्म ५२ जना कोरोनामुक्त भइसकेका छन् ।
तस्वीर : शरण श्रेष्ठको फेसबुक




