| आइतवार, कार्तिक २२, २०८३

कोरोनाबाट मरेकाको १२ घण्टापछि अन्त्यष्टि

 

गोरखामा कोरोनाबाट मरेकाको शव १२ घण्टापछि अन्त्येष्टि भएको छ । स्थानीयबासीको दिनभरिको अबरोधपछि नेपाली सेनाको विशेष टोलीले शहीद लखन गाउँपालिका १ लुदीखोलाघाटमा अन्त्येष्टि गरेको हो ।

कोरोना फैलने भन्दै स्थानीय समुदायले अवरोध गर्ने क्रममा पटक पटक झडप भएको थियो । स्थानीयबासीले अन्त्यष्टी गर्ने घाटसम्म जाने बाटोमा ह्युमपाइप तेस्र्याएर अबरोध गरेका थिए । सडक सुचारु गर्न खोज्ने प्रहरीमाथि स्थानीयबासीले ढुङ्गामुढा गरेका थिए भने भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज र सात सेल अश्रुग्यास प्रहार गरेको थियो ।

झडपमा चार जना प्रहरी र केही आसपासका बासिन्दा घाइते भएका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए । केही युवालाई नियन्त्रणमा लिएर छाडिएको उनले बताए ।

भीड तितरबितर भएपछि साँझ छ बजे नेपाली सेनाको विशेषटोलीले मृतकको दाहसंस्कार गरेको रणसिँह दल गणका गणपति उज्वल केशीले जानकारी दिए ।

गत मंगलबार कतारबाट घर फर्केका पालुङ्टार नगरपालिका ७ पुर्नेपिपलका ४४ बर्षे एक पुरुषको शनिबार बिहान पाँच बजे गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यू भएको थियो । उनी मधुमेहका दीर्घरोगी पनि रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

 

तस्वीर : आत्माराम श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्