
ट्रिपरको ठक्करबाट नेपाली सेनाका चारजना घाइते
असावधानीपूर्वक चलाइएको ट्रिपरले डुयुटीमा रहेको नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा नेपाली सेनाका चार जना घाइते भएका छन् ।
मझुवा चेकप्वाइन्टबाट फर्कदै गरेको बा १ झ ५८०० नंबरको सेनाको भ्यानलाई गोरखा बजारतिरबाट फर्कदै गरेको लु १ क ३८४६ नंबरको ट्रिपरले बुधबार साँझ साँढे पाँचबजेतिर गोरखा नगरपालिका ११ को पन्द्रकिलोघुम्तीमा ठक्कर दिँदा गाडीभित्र सवार सेनाका पाँचजना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा रणसिँह दल गण गोरखामा कार्यरत पालुङ्टार ३ निबासी प्रेम परियार, ललितपुर बज्रबाराही नगरपालिकाका रञ्जित राना, कटारी नगरपालिका ८ का इन्द्रबहादुर तामाङ, सिद्धलेक गाउँपालिका १ धादिङ सिताराम सिलवाल घाइते भएका हुन् ।
घाइतेहरु सबैलाई उपचारका लागि गोरखा अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।
उनीहरुमध्य रञ्जित राना र प्रेम परियारलाई गम्भीर चोट लागेकाले थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको रणसिँह दल गणका गणपति उज्वल केशीले जानकारी दिए ।
ट्रिपर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयले बताए ।
घुम्तीमा असावधानीपूर्वक चलाएको ट्रिपरले ठक्कर दिएको अनुमान गरिएको ट्राफिक प्रहरी प्रमुख सई ढकालले बताए ।




