| आइतवार, कार्तिक २२, २०८३

सौरपानी दुर्घटनाका घाईतेको उपचारका लागि आर्थिक संकलन सुरु

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ रञ्चोकबाट गोरखातर्फ आउँदै गरेको जीप दुर्घटनामा परेका घाईतेहरुको उपचारका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका पाँचजनामध्ये श्रीमान गुरुङ र बिमला गुरुङको शल्यक्रिया गर्नुपर्ने अवस्था छ । श्रीमानको देब्रे घुँडा र बिमलाको दाँत फेर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रिया गर्नुपर्ने अवस्थामा यी दुई बिरामीको उपचारमा धेरै खर्च लाग्ने भएको छ ।

घाईते पाँचमध्ये बिनोद गुरुङ घर फर्किएका छन् । रमा गुरुङ र बुधबहादुर गुरुङ दुई जनाको अवस्था सुधार हुँदै गएकाले केही दिनभित्र डिस्चार्ज हुन सक्ने आर्थिक संकलन अभियानका अगुवा स्थानीय इश्वर ढकालले बताए ।

‘अहिलेसम्म एक लाख ३० हजार रुपैयाँ दिने प्रतिवद्धता आएको छ’, उनले भने ‘करिब आठदेखि दसलाख रुपैयाँ उपचारमा खर्च हुने अनुमान छ ।’ अहिलेसम्म सबैभन्दा धेरै गण्डकी प्रदेश सांसाद प्रकाशचन्द्र दवाडीले नगद ५० हजार रुपैयाँ दिने घोषणा गरेका उनले बताए । यस्तै स्थानीय रामकुमार देवकोटाले १० हजार, राकेश पनेरुले १० हजार नगद दिने घोषणा गरेका छन् ।

सहयोग गर्न चाहनेले बिमला गुरुङको बुबा लेखबहादुर गुरुङको राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर ३०६००४१०१३१० मा रकम सिधै जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ । अथवा अस्पतालमा घाइतेका आफन्तलाई भेटेर सिधै सहयोग हस्तान्तरण गर्ने गरी रकम जम्मा गरिएको छ । सौरपानी र आसपासका स्थानीयले आर्थिक सहयोग जुटाइरहेका छन् । गत फागुन २७ गते १३ जना यात्रु चढेको जिप साँघुरो भिरालो सडकका कारण दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्