| आइतवार, कार्तिक २२, २०८३

जोखिम सडक, थोत्रा गाडी, तिब्रगति र क्षमताभन्दा धेरै यात्रुका कारण सवारी दुर्घटना बढेको बढै

ग्राभेल पनि नगरिएको, ग्रेडिङ नमिलेको, ठाडो भिरालो कच्ची सडकमा जबर्जस्ती यात्रुबाहक सवारीसाधन कुँदाउँदा गोरखामा सवारी दुर्घटना बढ्ने गरेको छ ।

थोत्रो गाडीमा क्षमताभन्दा धेरै यात्रु राखेर जोखिमपूर्ण रुपमा सवारी चलाउँदा गोरखामा एकहप्ताभित्रै तीनवटा सवारी दुर्घटना भएको हो । मंगलबार बारपाक सुलीकोट गाउँपालिका ४ मा गोरखाको सौरपानीमा भएको जीप दुर्घटनामा १३ जना घाइते भए ।

बारपाक सुलीकोट ४ रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बरको जीप मंगलबार बिहान सात बजे छहरेखोलाको भीरबाट खस्दा जीपमा सवार १३ जना घाइते भएका स्थानीय इश्वर ढकालले जानकारी दिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बारपाक सुलीकोट ४ रञ्चोक निबासी बिमला गुरुङ, रमा गुरुङ, वुद्धबहादुर गुरुङ, श्रीमान गुरुङ, क्षेत्रकुमारी गुरुङ, एकमाया गुरुङ, सनिता गुरुङ, सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ, आनन्दकुमार गुरुङ, बिमला परियार र गोरखा नगरपालिका ६ पोखराथोक निबासी श्रीमल नेपाली घाइते भएका जिल्ला टूाफिक इञ्चार्ज सुकबहादुर नेपालीले जानकारी दिए ।

उनीहरुमध्य बिमला, रमा, विनोद र श्रीमान गुरुङलाई हेलिकोप्टरमार्फत उद्धार गरी ग्रिनसिटी अस्पताल काठमाडौं लगिएको छ भने वुद्धबहादुरलाई गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

अरु सबै घाइतेलाई एम्बुलेन्स मार्फत गोरखा अस्पताल ल्याई उपचार भइरहेको टूाफिक प्रहरी कार्यालयले जनाएको छ ।
गते फागुन २१ गते बुधबार आरुघाट १ धोर्चेतमा बा १ च ५५०५ नंबरको जीप पल्टँदा धार्चे गाउँपालिका ६ का वडासचिव किरण रिमालको मृत्यू भयो । सोही गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङसहित जीपचालक बालचन्द्र गुरुङ, निशा गुरुङ, धनबहादुर गुरुङ, केयरसिँह गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाइते भए । राती आठबजे भएको दुर्घटनामा घाइते भएका उनीहरुलाई भोलिपल्ट हेलिकोप्टरबाट काठमाडौं लगी उपचार गराइएको छ । उनीहरुको अबस्था खतरामुक्त रहेको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।

त्यस्तै गत फागुन २३ गते शुक्रबार सिरानचोक ८ धन्सार ग १ त ४६८२ नम्बरको ट्याक्टर पल्टँदा एकजनाको मृत्यू भएको छ । दुईजना घाइते भएका छन् । जौवारीबाट चनौटेतर्फ जाँदै गरेको ग १ त ४६८२ नम्बरको ट्याक्टर धन्सारमा दुर्घटनामा परी दाङका २३ वर्षीय यज्ञबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक बारपाक सुलिकोट गाउँपालिका ६ का १९ वर्षीय सुमन अधिकारी र दाङ घर भएका सुवास थापामगर घाइते भएको प्रहरीले जनाएको छ ।

ग्रेडिङ र घुम्ति नमिलेको कच्ची सडक, ब्रेकसमेत ठिक अबस्थामा नरहेको थोत्रो गाडी, अपरिपक्क चालकले तिब्र गतिमा गाडी हाँक्दा ग्रामीण सडक असुरक्षित हुने गरेको जिल्ला प्रहरी प्रमुख ओम अधिकारी तर्क गर्छन् । ‘डोजर डूाइभर आफै इञ्जिनियर भएर बनाएको सडकमा अपरिपक्क चालकले क्षमता भन्दा धेरै यात्रु कोचेर थोत्रा गाडी कुदाउँदा दुर्घटना हुने गरेको पाइएको छ’, एसपी अधिकारी भन्छन्, ‘हाम्रा टूाफिकले चेकजाँच नगरेको त होइन, तर चेकिङ हुने ठाउँ पुग्नै लाग्दा यात्रु ओह्राल्छन् । अनि यात्रुलाई हिँडाएर चेकिङ कटाउँछन् र फेरि चढाउँछन् ।’ बाटोको अबस्था, गाडीको अबस्था हेरेर गाडी चढ्न यात्रु पनि सचेत हुनुपर्नेमा उनले जोड दिए ।

जताततै सडकको ट्रयाक खोल्ने तर स्तरोन्नति नगर्ने अबस्थाले दुर्घटना बढेको दरौंदी यातायात सेवा प्रालिका अञ्जन खत्री तर्क गर्छन् । ‘कृषि सडकका नाममा जताततै ट्रयाक खनिएको हुन्छ, तर स्तरोन्नति गरिएको हुदैन’, खत्री भन्छन्, ‘अनि बाटो खनेको देख्ने बित्तिकै जीपवालाहरुलाई यात्रु बोक्न हतार भइहाल्छ । यसले पनि दुर्घटना हुने गरेको हो ।’

ट्राफिक प्रमुख सुकबहादुर बिकले कच्ची सडकको कारण दुर्घटना बढेको बताए । ‘सडकको जोखिम, पुराना सवारी साधन, सवारीको अवस्थाले दुर्घटना भएको देखिन्छ’ उनले भने । दुर्घटना न्यूनिकरण गर्न गाउँगाउँमा खनिएका कच्ची सडकलाई ब्यवस्थित गर्दै सुधार गर्नुपर्ने उनले बताए । अहिले ग्रामिण भेगमा २० वर्ष पुराना सवारी साधन पनि चल्ने गरेको छ । निजी प्रयोजनका लागि भन्दै रातो नम्बर प्लेटका तर धेरै पुराना सवारी साधनलाई यात्रु ओसार्न प्रयोग गरिएको छ । ट्राभल कम्पनीहरुले लामो समय चलाएका र भाडामा चलेका सवारी साधनलाई पुरानो हुँदै गएपछि सस्तोमा खरिद गर्ने ग्रामिण भेगमा यात्रु ओसार पोसार, रिर्जभ लैजानमा प्रयोग गर्ने परिपाटी रहेको ट्राफिक प्रमुख बिकले बताए । ‘हामी टोली बनाएर गाउँगाउँमा चेकजाँच सुरु गछौँ’, टूाफिक प्रहरी प्रमुख बिकले भने ‘यात्रुहरुले पनि पुरानो गाडी रिर्जभ गरेर हिड्ने, जोखिमको सडकमा क्षमता भन्दा धेरै चढ्न भएन ।’ रातो प्लेटका जिपहरु अहिले पनि गोरखामा यात्रु बोक्नमा प्रयोग हुने गरेको छ । यो क्रम रोक्न चेकजाँचलाई कडाई बनाउने प्रहरीले बताएपछि कतिपय ग्रामिण भेगमा जाने बिकल्प नहुँदा जिपमा जानुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

एक हप्तामा तीनवटा दुर्घटना ग्रामिण सडकमा भएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले विपद् ब्यवस्थापन समितिको बैठक डाकेर सडक दुर्घटना न्यूनिकणको विषयमा छलफल गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उक्त विषयमा छलफल गर्न बिहिवार बैठक बोलाइएको बताए । बैठकमा सबै स्थानीय तहका प्रमुखहरुलाई पनि आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्