
वडाध्यक्षका भाइको कुटाइबाट गोरखा पौवाटारका दलबहादुर सार्की आइसीयूमा
पालुङटार नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षका भाइको निर्घात कुटपिटबाट घाइते भएका ७२ बर्षीय एक वृद्ध आइसीयूमा भर्ना भएका छन् ।
वडा नं ६ का वडाअध्यक्ष गोविन्द बराकोटीका भाइ ओमबहादुर बराकोटीको गत शुक्रबारको कुटाइबाट घाइते भएका पौवाटारका ७२ बर्षीय बृद्ध दलबीर सार्की आइसीयूमा भर्ना भएका स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार सार्कीले मादक पदार्थ सेवन गरी अपशब्द बोलेको भन्दै बराकोटीले उनलाई कुटपिट गरेका थिए । बराकोटीको कुटपिटबाट घाइते सार्कीको हाल नारायणी सामुदायिक अस्पताल चितवनको आइसियू कक्षमा उपचार भइरहेको छ ।
सार्कीको आफन्तले आइतबार दिएको जाहेरीका आधारमा बराकोटीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘पिटिने पक्षले हामीलाई जाहेरी दिनु भएको छ । सोही जाहेरीको आधारमा पिट्नेलाई नियन्त्रणमा लिएका छौँ’, एक प्रहरी निरीक्षकले भने, ‘तर, आज र भोलि विदा भएकाले जाहेरी दर्ता भएको छैन । विदा सकिएपछि जाहेरी दर्ता गरी छानबिन प्रक्रिया अघि बढ्छ ।’
उनी नेकपाका क्षेत्रीय सदस्य समेत हुन् ।




