
बूढीगण्डकी क्षेत्रमा उत्खननमा कडाई, एकै दिन सातवटा सवारी नियन्त्रणमा
राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिकरण गरेको क्षेत्रबाट मनोमानी उत्खनन हुन थालेपछि कडाई गरिएको छ ।
आयोजनाको सिउरेनीटारस्थित वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्थापना इकाईका प्रमुख कृष्णबहादुर कार्कीले जथाभावी उत्खनन गर्ने, खानी चलाउने गरेपछि जिल्ला प्रशासन र प्रहरीको सहयोगमा अनुगमन तिब्र पारिएको बताए । ‘मुआब्जा दिईसकेको जग्गामा मनोमानी उत्खनन गरिएको छ, आयोजना निर्माण नै प्रभावित हुने गरी उत्खनन भएकाले रोकेका हौँ’ उनले भने । अहिले आयोजना कार्यालय, जिल्ला प्रशासन र प्रहरी सहितको टोलीले केही दिन बिराएर आयोजना क्षेत्रमा उत्खनन हुन सक्ने संभावित ठाउँको अनुगमन गरिरहेको छ ।
बिहिवार अनुगमनका क्रममा सातवटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शहिदलखन गाउँपालिकाको बुङकोटघाटबाट दुईवटा टिपर, चारवटा ट्याक्टर र दर्बुङफाँटको बूढीगण्डकी नदीमा उत्खनन गरिरहेको एक्साभेटर अनुगमन टोलीले नियन्त्रणमा लिएको हो । उत्खनन र निकासीमा प्रयोग भएका सातवटै सवारी साधनको कागजात आयोजनाको सिउरेनीटारस्थित कार्यालयमा कारवाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बूढीगण्डकी आयोजनाले जग्गाको मुआब्जा बितरण गरिसकेको भीमसेन थापा गाउँपालिकाको धावा स्थित बालुवा खानीमा अनुगमन समितिले ताला लगाएको छ । खानी जाने मुख्य गेटमा ताला लगाएको अनुगमनमा खटिएका आयोजनाका समाजशास्त्री इश्वरीप्रसाद आचार्यले बताए । बालुवाटार, घाटबेसी, क्यामुन्टर, दर्बुङ, फुजेल, घ्याल्चोक लगायत गोरखातर्फका ती ठाउँमा खानी र खोलाबाट अवैध रुपमा उत्खनन् भइरहेको छ ।
धादिङतर्फ सल्यान्टार, बुट्टार, चैनपुर, बुङ्कोटघाट लगायत ठाउँमा पनि आयोजनाले मुआब्जा दिएको ठाउँमा अवैध उत्खनन चलिरहेको छ । गोरखातर्फ प्रशासनले कडाई गरेका बेला धादिङ हुँदै बालुवा निकासी हुने गरेको स्थानीय बताउँछन् ।
मुआब्जा बितरण भइसकेको जग्गामा उत्खनन भएको छ ।




