| आइतवार, कार्तिक २२, २०८३

ट्रिपरले किचेर गोरखामा महिलाको मृत्यू , १५ लाख क्षतिपूर्तिमा सहमति

शिव उप्रेतीः गोरखा नगरपालिका १० छेपेटारमा दूध बेच्दै आएकी अमलापानीकी मनमाया तामाङ तीन माना दूध लिएर सँधै झैँ शुक्रबार बिहान छ बजे घरबाट निस्किइन् । पाँच मिनेटको बाटो हिडेपछि गोरखकाली क्रसर अगाडि पुगिन् । ठिक त्यसैबेला क्रसर अघिको चिया पसलमा रोकिराखेको ग १ ख ८०२७ नम्बरको ट्रिपर निस्कियो र घुम्तिमा हिडिरहेकी ५२ बर्षीय मनमायालाई किच्यो ।
उनका श्रीमान खासा दोङ तामाङ भन्छन्, ‘सुरुमा खुट्टामा किचेछ । अनि ब्याक गरेर ज्यान पूरै चेपेर मा¥यो । एकफेर चेपेर जति घाइते भएकी थिई, त्यतिकै छाडेको भए हामी उपचार गरेर ठिक बनाउँथ्यौं । कि अपाङ्ग भए पनि अनुहार मात्र भनेपनि हेरेर बस्न त पाइन्थ्यो ।’ घाइतेको उपचार गर्नुभन्दा मारेर क्षतिपूर्ति तिर्न सजिलो ठानेर जानाजान ड्राइभरले चेपेर मारेको भन्दै उनले आक्रोश पोखे ।
तामाङको मृत्यूको खबर पाउनेबित्तिकै आसपासका गाउँले र छेपेटारदेखिका बासिन्दाहरु भेला भए । आक्रोशित समूहले सो ट्रिपर क्रसर आसपास रोकिराखेका १७ वटा ट्रिपर, ६ वटा ब्याक हु लोडर र एउटा चेनवाला एक्साभेटर तोडफोड गरे । क्रसर उद्योगको कार्यालय भवन र स्टोर भवन तोडफोड गरेका प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।
ना ८ ख ४७३०, ना ८ ख ४७३७, ना ७ ख ८३४९, ना ७ ख ८३४८, ग १ ख ७४७३, ना २ ख १६३, ग १ ख ७६५५, ग १ ख ४१२२, ग १ ख ३९०८, ग १ ख ८०४२, ग १ प ७५०९, ना १ ख ८०४४, ना २ ख ४७३१, ग १ ख ७४७२, ग १ ख ७६७३, ग १ ख ३९०७ नंबरका ट्रिपरहरु तोडफोड गरेका हुन् । त्यस्तै ग १ ख ४१२५, बा २ ख ९६४३, बा २ ख ८२०७, बा १ ख ९३२९ र दुईवटा नम्बर नखुलेका ब्याक हु लोडर पनि तोडफोड भएको छ । एसवाई १४० सी ९५ नम्बरको चेनवाला एक्साभेटर पनि तोडफोड भएको प्रहरीले जनाएको छ । ट्रिपर चालक रामु बिकलाई नियन्त्रणमा लिएको डिएसपी खतिवडाले जानकारी दिए ।

डिएसपी माथि हातपात
आक्रोशित भीडले मनमायालाई किच्ने ग १ ख ८०२७ नम्बरको ट्रिपरलाई भने जलाएर क्षतिग्रस्त बनाएका छन् । बाँकी ट्रिपरलाई पनि लगाउने प्रयास गर्दा घटनास्थलमा खटिएका डिएसपी वासुदेव खतिवडाले बल प्रयोग गरेर छेके । छेक्ने क्रममा आक्रोशित युवाहरु उनीमाथि पनि खनिए । ‘भीड मै माथि खनियो’, डिएसपी खतिवडा भन्छन्, ‘ममाथि के के भयो, म शव्दमा भन्न सक्दिन ।’ वडा अध्यक्षमाथि दुव्र्यवहार भएको आरोपमा आफूमाथि स्थानीय खनिएको उनले बताए । ‘भीडमा मान्छे चिनिदैन । ट्रिपर जलाउन भनेर अघि बढेको भीड हटाउने क्रममा वडा अध्यक्षज्यू पनि घचेटिनु भएछ, त्यो मलाई थाहा भएन । त्यसैले पनि भीड आक्रोशित भएको हुनसक्छ’, उनले भने ।
स्थानीयबासीले भने घटनास्थलमा प्रहरी र क्रसरवाला समयमा नआएकाले आक्रोश बढेको र तोडफोड भएको दावी गरेका छन् । ‘हामीले घटनास्थलमा चाँडो आउन प्रहरी र क्रसरवालालाई बारम्बार खबर ग¥यौं । उहाँहरु आउन ढिला गर्नुभयो । त्यसैले आक्रोशित भीडले तोडफोडमा उत्रिएको हो’, स्थानीय सञ्जु गैरेले भनिन् ।
१५ लाख रुपैयाँ क्षतिपूर्तिमा सहमति
जिल्ला प्रशासन कार्यालयको संयोजनमा बसेको पिडित पक्ष र ट्रिपर पक्षधर बीचको दोस्रो चरणको बार्ता सहमतिमा टुङ्गिएको छ । दोस्रो चरण साँझ छ बजेदेखि सुरु भएको त्रिपक्षीय बैठक साँझ साँढे आठ बजे टुङ्गिएको हो । पिडित पक्षलाई क्षतिपूर्तिवापत १५ लाख रुपैयाँ उपलब्ध गराउने गरी सहमति भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि गोरखा अस्पताल लैजान मृतकका आफन्तहरु सहमत भएको पनि उनले बताए ।
यसअघि मृतकका आफन्तले क्षतिपूर्तिवापत ५० लाख रुपैयाँ पीडितपक्षले माग गरेका थिए । दिउसो दुईबजेदेखि चारबजेसम्म प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने नेतृत्वको वार्ता टोली र पिडित पक्ष बीच चलेको बार्तामा ५० लाख रुपैयाँ क्षतिपूर्ति र क्रसर सो ठाउँबाट हट्नु पर्ने अडान पीडित पक्षले लिएपछि बार्ता बिफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्