
टिपरको ठक्करबाट महिलाको मृत्यू : पीडीत पक्ष र प्रशासनबिच बार्ता सुरु
गोरखा : गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा टिपरको ठक्करबाट स्थानीय मनमाया तामाङको मृत्युपछि बिरोधमा उत्रिएका पीडीत पक्ष र प्रशासनबिच बार्ता सुरु भएको छ । छेपेटारमा नै प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेसहित सुरक्षा निकायका प्रमुख र पीडीत पक्षबिच बार्ता सुरु भएको वडाअध्यक्ष देवीबहादुर बस्नेतले जानकरी दिए ।
बिरोधमा उत्रिएका स्थानीयले मृतक परिवारलाई ५० लाख रुपैँया क्षतिपूर्ति दिएर अबैध रुपमा सञ्चालनमा आएको उक्त क्रसर उद्योग बन्द गर्नुपर्ने माग राख्दै आफुहरुको माग पूरा नभएसम्म शवको जिम्मा नलिने अडान लिएका छन् । शुक्रवार बिहान दुध बेच्न हिँडेकी ५२ बर्षिया तामाङको गोरखकाली क्रसर उद्योग परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरको ठक्करबाट भएपछि अझैपनि त्यहाँको अवस्था समान्य बनेको छैन ।
महिलालाई टिपरले ठक्कर दिएर घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गर्नुका साथै क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा एक्साभेटरसमेत तोडफोड गरेका प्रहरीले जनाएको छ । बिहान घटना भएलगत्तै गोरखाका निमित्त प्रहरी प्रमुख समेत रहेको डिएसपी बासुदेव खतिवडा सहित नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली परिचालन भएपनि स्थिती नियन्त्रणमा लिन सकेका थिएनन् ।
क्रसर उद्योग छेउमा टिपरले ठक्कर दिएकाले उद्योगका सञ्चालक आउनुपर्ने माग गर्दै स्थानीय आक्रोशित छन् । उद्योग सञ्चालक भने अशुरक्षाको कारण देखाउँदै पुगेका छैनन ।




