| शुक्रबार, बैशाख ७, २०८१

गाउँको बिकृति हटाउन गस्ती गर्दै बारपाकका महिलाहरु

बिगत लामो समयदेखि गाउँमा विद्यमान बिकृति, विसंगति निर्मूल पार्न बारपाकका महिलाहरु जागेका छन् । चाडपर्वका बेला लागुपदार्थ तथा मादक पदार्थ सेवन गरी दिनभरि, रातभरि होहल्ला गर्दै हिड्ने गरेकाले त्यस्ता गतिविधि नियन्त्रणका लागि स्थानीय महिला जागरण समूहले अभियान सञ्चालन गरेको हो ।

जाँडरक्सी खाने, जुवातास खेल्ने गतिबिधि नगर्न र नगराउन चोकचोक तथा सार्वजनिक ठाउँहरुमा सूचना टाँस गरेका छन् । साथै आलोपालो गरी महिलाहरुले गस्ती गर्न सुरु गरेका छन् । ‘दिनरातै हामी गाउँमा गस्ती गर्छौं’, महिला जागरण समूही अध्यक्ष मनोज घलेले भनिन्, ‘महिला समूहका सक्रिय सदस्यहरु, पदाधिकारीहरु आलोपालो गरी गाउँमा गस्ती गर्छौं । धेरै ठाउँमा धेरैजनालाई फेला पारी कारबाही गरिएको छ ।’

दशैं, तिहार, ल्होसार, अर्गुङ जस्ता चाडपर्व तथा धार्मिक, सांस्कृतिक संस्कारमा अत्याधिक मादक पदार्थ सेवन गर्ने, जुवातास खेल्ने र युवा र युवती पनि गाँजा, रक्सी, चुरोट, खाएर होहल्ला गरी हिड्ने गरकाले नियन्त्रणका लागि अभियान सञ्चालन गर्नुपरेको स्थानीय युवा जीतबहादुर घलेले बताए ।

महिला जागरण समूहले रातमा खुल्ने गरेका रक्सी पसललाई यथासमयमा बन्द गर्न निर्देशन दिएका छन् । आफै गाउँ गस्ती गरी त्यस्ता खुलेका पसललाई बन्द गराउने गरेको उनले बताए । यदि अटेरी गरी रक्सी पसल खोल्ने, रक्सी बेच्ने गरेको फेला पारेमा कारबाही पनि गर्ने गरिएको अध्यक्ष घलेले बताइन् । घर ब्यबहारको काम गर्नुको साँटो दिनरात जुवातास खेल्ने, मादक पदार्थ खाएर घरमा अशान्ति मच्चाउने, टोलटोलमा होहल्ला गर्ने, युवायुवती कुलतमा फँस्ने गरेकाले नियन्त्रणका लागि महिला समूह जागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्