| आइतवार, कार्तिक २२, २०८३

गोरखकाली मेलामा ‘जुवा’ , प्रहरी मनोरञ्जनमा मस्त

खेलकुदको विकासमा सहयोग गर्ने उद्देश्यले हरमटारी क्लब गोरखाले आयोजना गरेको दोस्रो गोरखकाली मेलामा खुलेआम जुवा खेलाएको छ । सदरमुकामको हरमटारी खेलमैदानमा आयोजित मेलामा आयोजककै मिलेमतोमा दिनदहाडै हजारौँ रुपैँया हारजीत हुनेगरी जुवा खेलाइएको हो ।

सार्वजनिक स्थलमा अवैध खेल सञ्चालन भइरहँदा मेला स्थलमा ड्युटीमा खटिएका प्रहरीले बेवास्ता गर्ने गरेको छ । जुवाको खाल नदेखे झैँ गरी प्रहरीहरु मञ्चमा आयोजित मनोरञ्जनात्मक कार्यक्रम हेर्नमा मस्त हुने गरेको पाइएको छ ।

जुवा खेलाइएको स्थानबाट पटक–पटक आउजाउ गरिरहेका बर्दीमा खटिएका प्रहरी जुवा खाल नदेखेझैँ गरिरहेका भेटिने गरेका छन् । गाउँबाट मेला हेर्न आएका सोझा दर्शकलाई झुक्याएर जुवा खेलाउनेले आफु अनुकुल हजार–हजार रुपैयाँ थापेर हारजीत गरिरहेका थिए ।
मेलामा सर्वसाधारणलाई भ्रममा पारेर पैसा लुट्ने योजना सहित यस अघिका मेला महोत्सवमा पनि जुवा हुने गरेको थियो ।

चेम्वर अफ कमर्सले आयोजना गरेको मेलामा जुवा खेलाउनेलाई पक्राउ गरेर कारवाही गरेको गोरखा प्रहरीले गोरखकाली मेलामा भने जुवाको खाल देखे पनि नदेखेझै गरेको पाइएको छ ।

मेलामा खेलाइएको जुवा यस्तो छ ःनम्बर भएको फ्लेक्समा पैसा राखिन्छ । खेलाउनेले धेरै पैसा भएको ठाउँमा पारेको जस्तो गरी आफ्नै आसेपासेलाई केही पटक पैसा पारिदिन्छन् । त्यो देखेर लोभिएका सर्वसाधारणले पनि पैसा जुवामा थाप्छन् । थोरै पैसा भएको ठाउँमा पारिदिन्छन या खेल्ने मध्ये पनि आफ्नो आसेपासेलाई पार्छन । यो कुरा मेला हेर्न बिभिन्न ठाउँबाट आएका सर्वसाधारणलाई पत्तो हुँदैन । एक दुई पटक आएको धेरै पैसाले लोभिएर उनीहरु जुवा खेल्छन् । अन्ततः भएको सबै पैसा सकेर रित्तो फर्कन्छन् ।

बिहिवार नम्बर भएको फ्लेक्समा गोटीको मद्दतले मेला स्थलमा जुवा खेलाइएको थियो । जुवाको फोटो खिच्दा र सोधखोज गर्दा खेलाउने जुवा ब्यबसायीहरु र आयोजकले नै ढाकछोप गरेका थिए । आयोजक र जुवा ब्यबसायीले पत्रकारलाई समाचार नलेख्न बिभिन्न आग्रह, अनुग्रह, प्रलोभनको प्रस्ताव गरेका थिए ।

आयोजकले यसअघि पत्रकार सम्मेलनमा जुवा नखेलाउने प्रतिवद्धता जनाएका थिए । तर व्यवहारमा भने पालना नगरेको पाइएको छ । केहीदिन अघिदेखि नै दिउँसो केही घण्टा मेलामा लुकिचोरी जुवा हुँदै आएको नियमित मेलामा जाने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।
आयोजक हरमटारी क्लवका अध्यक्ष बिशाल गुरुङले पैसा राखेर रिङमा सर्वसाधारण लुट्ने हेतुले खेलाइएको जुवा लाई ‘जुवा’ नभई मनोरञ्जनात्मक खेल भएको दावी गरे । आयोजकले पर्यटन प्रर्वद्धन गर्ने हेतुले मेला गरिएको बताएपनि जुवा खेलाएर महोत्सवबाट आर्थिक लाभ लिन केही ब्यक्ति उद्धत भएको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखका एसपी ओम अधिकारीले जुवा खेलाएको विषय आफूलाई जानकारी नभएको बताए । मनोरञ्जन मात्रै होला भन्दै उनले जुवा नै हो भने नियन्त्रण गर्ने बताए । कुनै खालको उजुरी र गुनासो नआएकाले यस बारेमा जानकारी नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्