
यसरी छेकिएको थियो गोरखा सदरमुकाममै ठेक्का
फुजेलका अञ्जन सिँखडा गोरखा अस्पतालले आव्हान गरेको औषधी खरिदसम्बन्धी टेण्डर फारम खरिद गर्न गत ११ गते गोरखा अस्पताल पुगे । उनको हातमा पट्टी बाँधिएको थियो । सरासर प्रशासन शाखामा गएर औषधी खरिदसम्बन्धी टेण्डर फाराम किनेर फर्किए ।
प्रशासन शाखाबाट फर्किदै गर्दा उनलाई एकदुई जनाले पिछा गरेको थियो । जब उनी अस्पतालको गेट बाहिर पुगे, उनलाई पाँच, छ जना उच्छृङ्खल युवा जमातले घेरा हाल्यो । कसैले फाराम समातेर खोसेको र कसैले तथानाम डर, धाक, धम्की गर्न थालेको त्यस दिनको घटना सम्झँदा अहिले पनि अञ्जनलाई देशमा दण्डहिनता जारी नै रहेको अनुभूति भयो । ‘म त घेरामा परिहालेँ’, उनी भन्छन्, ‘कसैले फाराम खोसेर च्याते । यो ठेक्का हामीले गर्ने हो, अरु कसैको चान्स छैन भनेर तथानाम डरधाक धम्की गर्न थाले । खुकुरी हान्छौं सम्म पनि भने ।’ आफू हात भाँचिएको बिरामी भएकाले डर पनि लागेको उनले बताए ।
‘अस्पतालले टेण्डर आव्हान गर्यो, मैले टेण्डर फर्म किनेँ । मैले के गल्ती गरेँ र ?’, उनी भन्छन्, ‘टेण्डर फर्म दर्ता गर्न नपाएको घटना त यदाकदा सुनेको थिएँ, किन्नै नपाएको त गोरखामा मात्र हो ।’ अरु ठाउँमा इबिडिङको विकास भइसकेपनि गोरखा अस्पतालमा अहिलेसम्म पनि यो दुरावश्था रहेको भन्दै उनले दुख ब्यक्त गरे ।
‘म बिभिन्न जिल्लामा सर्जिकल उपकरण सप्लाइको काम गर्छु, तर यहाँ जस्तो दुखद अबस्था अन्यत्र भोग्नु परेन’, सिँखडाले भने, ‘हामी पाँचसात जना मात्र बाहिर छौं । निहुँ खोज्यो भने, बाइक नंबर नोट गरेर राखेका छौं । भित्र दाइहरु पनि हुनुहुन्छ, बोलाउँछौं भनेर धम्की दिदै थिए । हामी यो नेताको मान्छे, उ नेताको मान्छे भनेर नेताहरुको नाम समेत लिएका थिए ।’ उछृङ्खल युवाहरुले नाम लिएको नेताको नाम उनले भने गोप्य राखे । अस्पताल प्रशासनले भने अस्पतालको गेटमा भइरहेको गतिविधिबारे हेक्का राखेन । प्रहरीले युवाहरु पक्राउ गरिसकेपछि मात्र यस बारेमा जानकारी पाएको निमित्त मेडिकल सुपरिटेण्डेण्ट नवीन थापा बताउँछन् ।
‘हामी त आफ्नै काममा व्यस्त थियौं । बाहिर के भयो भन्ने पत्तै भएन’, डाक्टर थापाले भने, ‘प्रहरीले युवाहरुलाई पक्राउ गरेको छ रे भन्ने कुरा त कार्यालय समयपछि मात्र थाहा भयो ।’
जनशक्ति अभावका कारण इबिडिङ गर्न नसकेकोमा उनले दुख ब्यक्त गरे । ‘त्यो टेण्डरलाई हामीले रद्ध गरिसकेका छौं । अब इबिडिङ प्रविधि सिकेर पुन अर्को टेण्डर गर्ने तयारी गरिरहेका छौं’, मेसु थापाले भने । घटनापछि प्रहरीले गोरखा नगरपालिका ६ अस्पताल मार्गका औषधी ब्यबसायीहरु, होटलवालाहरु, लाई पक्राउ गरेको थियो । उनीहरुलाई केही घण्टा नियन्त्रणमा लिएर छाडेको प्रहरी नायव उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । ‘उनीहरुले कसुर स्वीकार गरेनन् । अनि हामीले सम्झाइ बुझाइ गरी छाडेका हौं’, उनले भने ।




