
जन्ती गएका भरत पाँचदिनदेखि सम्पर्कबिहिन
छिमेकीको बिहेमा जन्ती गएका निर्माण ब्यवसायी संघ गोरखाका कार्यालय सहयोगी भरत अम्गाई पाँचदिनदेखि सम्पर्क बिहिन भएका छन् ।
अम्गाई गत बिहिबार साँझ साँढे सातबजेदेखि सम्पर्कबिहिन भएका परिबारस्रोतलाई उद्धृत गर्दै संघका कार्यालय सचिव उमेश अर्यालले जानकारी दिए ।
गोरखा नगरपालिका वडा नं. ६ आयुर्वेदिक मार्ग निवासी ४७ बर्षीय अम्गाई गत मङ्सीर १९ गते स्थानीय शिव श्रेष्ठको विवाहमा रत्ननगर टाँडी चितवनमा जन्ती गएका थिए ।
‘खाना खानेबेलासम्म उनी सम्पर्कमा रहेछन्’, परिबारस्रोतलाई हवला दिदै अर्यालले भने, ‘खाना खाएर को कता गए, कसैले याद गरेनन् । उनले सातबजेर ३७ मिनेट गएको समयमा घरमा श्रीमतीलाई फोन गरेर बिखर्ची भएँ । अलपत्र भएँ भनेका रहेछन् । त्यसबेलादेखि सम्पर्कबिहिन भएका छन् ।’ टेलिफोन गरेको लोकेशन चितवनको दासढुंगा भेटिएको उनले बताए ।
भरत यसअघि होटल बिसौनीमा कार्यरत समेत थिए । केही बर्षदेखि होटल छाडेर संघको जागिर र आफै होटल सञ्चालन गर्दै आएका थिए ।
परिबार, टोलबासी, निर्माण ब्यबसायी संघ, गोरखा प्रहरी र चितवन प्रहरीले उनको दिनदिनै खोजी गरिरहेको अर्यालले बताए ।
कसैले उनलाई फेला पारेमा आफ्नो मोबाइल नंबर ९८४६३००५०० मा सम्पर्क गरिदिन श्रीमती गीता अम्गाईले अनुरोध गरेकी छिन् ।




