| शनिबार, बैशाख ८, २०८१

छेकम्पारमा ५० केजी यार्सागुम्बा बरामद

 

अबैध रुपमा तिब्बततर्फ निकासी हुनसक्ने आशंकामा प्रहरीचौकी छेकम्पारले शुक्रबार राती ५० किलोग्राम यार्सागुम्बा नियन्त्रणमा लिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना, जगत भन्सार कार्यालय तथा प्रहरीलाई जानकारी नदिई हेलिकोप्टरबाट ओसारिएको ४९.७५० किलोग्राम यार्सागुम्बा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

थप जाँचबुझका लागि सो यार्सागुम्बा मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)लाई हस्तान्तरण गर्न खबर गरिएको प्रहरीले जनाएको छ ।
छेकम्पार इन्टरप्राइजेजले अपि नप्पा क्षेत्रबाट राजस्व तिरेर सङ्कलन गरेको सो यार्सागुम्बा डिभिजनल वन कार्यालय काठमाडौंबाट स्थानान्तरण पुर्जी लिएर छेकम्पार लगेको जानकारी आएको एमक्यापले जनाएको छ । ‘यार्सागुम्बाधनीसँग हामीले सम्पर्क गर्दा छेकम्पारस्थित आफ्नै घरमा गोदाम गर्न लगिएको भन्ने बुझिएको छ’, एमक्याप प्रमुख नरेन्द्र लामाले भने, ‘तर बिनाजानकारी लगिएकाले यसको बारेमा बुझ्नुपर्ने हुन्छ ।’ छेकम्पार प्रहरीचौकीभन्दा माथि तिब्बत सीमानासम्म चेकजाँच गर्ने अर्को निकाय नभएकाले यसको बारेमा थप बुझ्नुपर्ने देखिएको उनले बताए ।
यार्सागुम्बा संकलन गरेबापत प्रतिकिलो ३० हजार रुपैयाँ राजस्व तिर्नुपर्ने हुन्छ । देशबाहिर निकासी गर्नुपरेमा भन्सार कार्यालयले निर्धारण गरेअनुसार थप शुल्क तिर्नुपर्ने ब्यबस्था छ ।

छेकम्पार इन्टरप्राइजेजले संकलन गरेबापतको राजस्व तिरेको पुर्जी छ तर भन्सार छुट पुर्जी छैन । बिना भन्सार छुटपुर्जी तिब्बत निकासी गर्नबाट रोक्न अनुुसन्धान गरेको जनाइएको छ ।

आइतबार सम्बन्धित यार्सागुम्बा धनीसंग समन्वय गरी सो यार्सागुम्बा कतै स्थानान्तरण गर्नु परेमा प्रहरी, एमक्याप लगायतका निकायलाई जानकारी गराउनु पर्ने, अन्यत्र स्थानान्तरण नहुञ्जेल आबश्यक परेका बेला गोदाम गरेको ठाउँमा चेकजाँच गराउने प्रतिवद्धता गराएर छोड्ने बारे छलफल भइरहेको एमक्याप प्रमुख लामाले बताए । यसअघि पनि छेकम्पारसम्मका लागि भन्दै वन कार्यालयबाट छुटपुर्जी बनाएर सतुवा लगायतका जडिबुटी ओसारपसार हुने गरेको थियो । यस्ता क्रियाकलाप बन्द गराउन कडाइ गरिने प्रहरीले जनाएको छ ।

(फाइल तस्वीर)

प्रतिक्रिया दिनुहोस्