| सोमवार, भदौ १, २०८३

मनास्लु आरोहणको क्रममा पोल्याण्ड नागरिकको मृत्यू

मनास्लु हिमाल आरोहणको क्रममा तेस्रो शिविर पुगेकी पोल्याण्डकी आरोहीको शनिबार मृत्यू भएको छ ।

६०८६७०४ नम्बरको राहदानी बाहक महिला आरोही रीता डोनेटा ब्लाड्यको (Rita Donata Bladyko) को लेक लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

५० बर्षकी उनी सेभेन सम्मिट ट्रेक्स प्रालिबाट मनास्लु आरोहणका लागि गएकी थिइन् । उनको शव अहिलेसम्म पनि तेस्रो शिविरमै रहेको सेभेन सम्मिटका मिङ्मार शेर्पाले जानकारी दिए । ‘तेस्रो शिविरबाट शिखरतर्फ जाँदै गर्दा बिरामी हुनु भयो । शेर्पाहरुले तल शिविरतर्फ ल्याउँदै गर्दा मृत्यू भएको जानकारी प्राप्त भएको छ’, उनले भने, ‘खराब मौसमका कारण उद्धार गर्न सकिएको छैन । शव शिविरमै छ । अब एकदुई दिनमा ल्याउँछौं ।’ उनको टिममा १४ जना आरोहीहरु थिए ।

किलर माउण्टेन नामले चिनिने ८,१६३ मिटर अग्लो मनास्लु हिमाल यसबर्ष अहिलेसम्मकै धेरै २५ टिमका आरोहीले आरोहण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्