| शनिबार, कार्तिक २, २०७६

अघिल्लो बर्ष पक्राउ पर्न नसकेकालाई पक्रँदै प्रहरी , गोरखा बजारका ६ सहित १४ जना पक्राउ

 

अनुपमा खनाल

जिल्ला प्रहरी कार्यालय गोरखाले फरार अभियुक्त पक्राउलाई तिब्रता दिएको छ । जिल्ला अदालत गोरखाले विभिन्न मुद्दामा दोषि ठहर गरेपछि फरार रहेका १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

दश दिनको अबधिमा १४ जनालाई पक्राउ गरेको उनले बताए । पक्राउ पर्नेमा धार्चे गाउँपालिका ७ का मानबहादुर गुरुङ, सुजन गुरुङ, सुर्यमान गुरुङ, सर्किनी गुरुङ र छममाया गुरुङ छन् ।

यस्तै, गोरखा नगरपालिका ९ का कृष्णबहादुर कमर योगी, सदिप श्रेष्ठ र मनिष पन्त, वडा नं ६ का कृष्ण शाही, जयराम शाही र आशिष शाही पनि पक्राउ परेका छन् । वडा नं २ का मनध्वज घले र वडा नं ८ का दिलमान गुरुङ र जीवन गुरुङ रहेका छन् ।
एक बर्ष अघि नै जिल्ला अदालतमा दायर भएको सार्वजनिक मुद्धामा उनीहरुलाई सजाय सुनाएपनि फैसला कार्यान्वयन हुन सकेको थिएन । प्रहरीले पक्राउ गरी अदालतमा बुझाएलगत्तै उनीहरु जरीवाना रकम बुझाएर छुटेका जिल्ला अदालत गोरखाका तहसिलदार अमृत मिश्रले बताए ।

उनका अनुसार मुद्धाको फैसलाका आधारमा कसुर अनुसार जरिवाना लिइएको छ । कृष्णबहादुर कमर योगीसँग छ हजार, जीवन गुरुङसँग दुई हजार रुपैयाँ र अन्यसँग एक एक हजार रुपैयाँ जरिवाना लिईएको मिश्रले जानकारी दिए ।
यसैैबीच, २०७२ सालदेखि फरार रहेका चोरी मुद्धाका दोषीलाई पक्राउ गरी कारागार चलान गरिएको छ । गोरखा नगरपालिका १० का २० बर्षीय नेत्र गुरुङलाई भदौ २३ गते कारागार चलान गरिएको हो ।

३ वटा चोरी मुद्धामा दोषि ठहर भएका गुरुङलाई दुई महिना १८ दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको तहसिलदार मिश्रले जानकारी दिए । जिल्ला अदालत गोरखाले फैसला गरेका पाँच सय भन्दा बढि मुद्धाका कसुरदार अझै फरार रहेका उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्