| शुक्रबार, अशोज ३, २०७६

चुमनुब्री गाउँपालिकाका कर्मचारी चारदिनदेखि बेपत्ता

 

चुमनुब्री गाउँपालिका वडा नं. ४ को कार्यालयमा कार्यरत कर्मचारी धावा लामा चार दिनदेखि हराइरहेका छन् । गत शुक्रबार दिउसो १ बजेदेखि हराइरहेका लामाका भाइ निमा लामाले जानकारी दिए ।

लामाका अनुसार उनले लगाउने टोपी, चप्पल र मोबाइल घर नजिकैको बुढीगण्डकी नदीको किनारमा फेला परेको छ । ‘चारदिनदेखि बेपत्ता हुनुहुन्छ । हामी परिबार र गाउँले मिलेर बूढीगण्डकी नदीमा खोजी गरिरहेका छौं’, उनले भने, ‘बूढीगण्डकी पनि बाढी आइरहेकाले खोजी गर्न समस्या भइरहेको छ । क्याप, मोबाइल र चप्पलचाहिँ गण्डकीको किनारमा फेला परेको छ ।’ घर भन्दा केही तल पर्ने बूढीगण्डकीतर्फ दिउसो एक बजेतिर झरिरहेको स्थानीय बासी एकजनाले देखेको र किनारमा उनले प्रयोग गर्ने सामग्री भेटिएकाले गण्डकीमा पसेको हुनसक्ने अनुमान गरिएको उनले बताए ।

लामा साबिक प्रोक गाविसमा २० बर्षदेखि प्राविधिक सहायक पदमा रहरे काम गरिरहेका र अहिले वडा नं. ४ को कार्यालय स्थापना भएदेखि नै सहायक कर्मचारीको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्