| आइतवार, कार्तिक २२, २०८३

अनाधिकृत चन्दा उठाउँदै हिड्नेहरु छेपेटारबाट पक्राउ

 

बिभिन्न बहानामा जिल्लामा चन्दा असुली गर्ने क्रम बढिरहेका बेला प्रहरीले गोरखा नगरपालिका १० छेपेटारबाट चन्दा असुल गरिरहेका एक समूहलाई पक्राउ गरेको छ ।

अनाथ बालबालिकाका लागि भन्दै अनाधिकृत रुपमा चन्दा उठाउँदै हिड्नेहरु पक्राउ परेका हुन् । नेपाल अनाथ तथा असहाय बालबालिका समाजको नाममा चन्दा सङ्कलन गर्ने तीनजनालाई गोरखा नगरपालिका १० छेपेटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिए ।

अनाधिकृत रुपमा चन्दा उठाइरहेको गुनासो आएपछि प्रहरी चौकी बारकिलोबाट खटिएका प्रहरी टोलीले भरतपुर महानगरपालिका १९ का विवेक गुरुङ, भरतपुर महानगरपालिका ३ का सुन्दर श्रेष्ठ र भरतपुर महानगरपालिका १३ का दीपक राईलाई पक्राउ गरिएको एसपी ओम अधिकारीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको स्वीकृतिविना धमाधम चन्दा असुली गरेकाले नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए । साथै उनले चन्दा संकलन गर्दा सम्बन्धित जिल्लाको प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्र चन्दा संकलन गर्न आग्रह गरेका छन् । यदि बिना स्वीकृति चन्दा उठाउँदै हिड्नेहरु भेटिएमा प्रहरीलाई खबर गर्न पनि सर्वसाधारण नागरिकमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्