
१६ किलो सुन काण्डका प्रतिवादी कारागार चलान
किरण लोहनी :
१६ किलो सुन काण्डका प्रतिवादी धनकमल गुरुङ जिल्ला कारागार चलान भएका छन् । जिल्ला अदालत गोरखामा बुधवार भएको थुनछेक बहसपछि जिल्ला न्यायधिश रमेशकान्त अकिारीले उनलाई पुर्पक्षका लागि थुनामा राखेर कारवाही अघि बढाउने आदेश गरेका हुन् ।
गोरखाको धार्चे गाऊँपालिका १ केरौंजाका ब्यवसायी धनकमल गुरुङ आफैंले ओडारमा लुकाएको १६ किलो सुन सहित गएको साउन ९ गते पक्राऊ परेका थिए । राजस्व अनुसन्धान विभागले उनलाई मुख्य प्रतिवादी बनाउँदै जिल्ला अदालत गोरखामा हिजो मुद्धा दर्ता गरेको थियो ।
उनीविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्धा दर्ता भएको छ । विभागले गुरुङ विरुद्ध ३५ करोड ६६ लाख ७२ हजार रुपैया जरिवाना गर्न माग गरेको छ । गत साउन ९ गते बिहान गोरखाको धार्चे गाऊँपालिका ३ उहीयाको ओडारमा १६ किलो सुन भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले सुन सहित मुख्य आरोपित धनकमल गुरुङलाई साउन १० गते राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । विभागले एक महिना भन्दा बढी समय लगाएर अनुसन्धान पूरा गरि जिल्ला अदालत गोरखामा मुद्धा दर्ता गरेको हो ।




