| आइतवार, कार्तिक २२, २०८३

साम्दोमा छिमेकीको कुटाइबाट वृद्धको मृत्यु

छिमेकीको कुटाइबाट गोरखाको चुमनुब्री गाउँपालिका १ साम्दोमा एक वृद्धको ज्यान गएको छ ।

६७ वर्षीय तेन्जेन दोर्जे लामाको ३७ वर्षीय छिमेकी निमा दोर्जे लामाको कुटाइबाट ज्यान गएको प्रहरीले जनाएको छ । बालुवा चोरेको विषयमा आरोप प्रत्यारोप हुँदा निमाले तेन्जेनलाई कुटपिट गरेको प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए।

‘घर बनाउने काममा बलुवा चोरेको भनेर झगडा भएछ, बिहान एकपटक कुटेर फेरि साँझमा पनि कुटपिट भएछ’, उनले भने, ‘गम्भीर घाइते उहाँको मुख र नाकबाट रगत बगेर ज्यान गएको जानकारी आएको छ ।’

घरायसी उपचार गर्दागर्दै तेन्जेनको ज्यान गएको अधिकारीले बताए। तेन्जेनको शव पोष्टमर्टमका लागि हेलिकप्टरबाट आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने प्रयास भैरहेको उनको भनाई छ । घटनास्थल सदरमुकामबाट ७ दिनको पैदल दूरीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्