
बारपाकका बिस्थापित बस्तीमा पहिरो पस्यो, १२ परिबारको गोठमा बास (फोटो फिचरसहित)
बुधबार रातीको भिषण बर्षापछि आएको पहिरोले बारपाक २ रुतुक गाउँका १२ घर बिस्थापित भएका छन् । तीनघण्टासम्म आएको बर्षापछिको पहिरोले स्थानीय देवबहादुर गुरुङको घर बगाएको स्थानीय डिलबहादुर गुरुङले जानकारी दिए ।

तस्बिरहरु तेजबाहादुर गुरुङ
साथै घरघरमा पहिरो पसेपछि स्थानीयले गाउँ छाडेका छन् । भैंसीको गोठमा रात काटेको उनले बताए । ‘गाउँमा पहिरो पसेपछि यताको पाँच,छ घर यताको डाँडामा, उताको पाँच, छ घर उताको डाँडामा भैसीको गोठमा बसेर रात काटियो’, उनले भने, ‘अहिले बिहान गाउँमा फर्केर आउँदा त एउटा पसल घर बगाएर लगेको रहेछ । अरु घरमा पनि पहिरो पसेको रहेछ ।’ गाउँमा रहेको ट्याक्टर पनि पहिरोले पुरिएको उनले बताए ।

बिभिन्न गाउँका ३२ घरधुरी २०७२ सालको भूकम्पबाट बिस्थापित भएर रुतुकामा बस्दै आएका थिए । ‘थलीडाँडा, पैलम, दरगङबाट यहाँ सुरक्षित छ भनेर आएर बसेको यहाँ पनि पहिरोले लग्यो’, उनले भने, ‘बारपाक ठूलो गाउँको नालाबाट आएको बाढीले हाम्रो गाउँ बगाएको हो ।’ बनाउँदा बनाउँदैको नाला ठेकेदारले गाउँमाथि ल्याएर अलपत्र छाडेका कारण यस्तो अबस्था आएको उनको भनाइ छ ।
पहिरोले थलीडाँडा पनि जोखिममा छ । अलगंङ र थलीगङ बीचमा ठूलो पहिरो झरेर गाउँ जोखिम भएको स्थानीय पुरबहादुर गुरुङले बताए । पहिरोका कारण स्थानीय ११ घर जोखिममा रहेको उनको भनाइ ।

गाउँमा पहिरो पसेपछि घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए । ‘एउटा पसल घर पूर्ण रुपमा क्षति भएको भन्ने खबर आएको छ । करिब १४ लाख बराबरको धनमाल बगाएर लगेको अनुमान छ’, एसपी अधिकारीले भने ।

साथै पहिरोका कारण उत्तरी गोरखा जाने आरुघाट सडकको आरुघाट, सोती खण्ड अबरुद्ध भएको प्रहरीले जनाएको छ ।




