| आइतवार, कार्तिक २२, २०८३

गोरखा ठिगुरेस्वाँराको तीन घरमा सुन र नगद चोरी

गोरखा नगरपालिका ९ ठिगुरेस्वाराँको तीन घरमा बुधबबार राती चोरी भएको छ ।

बन्दना दानी क्षेत्री, कमल कुमारी श्रेष्ठ र सानुमाया कुँवरको घरबाट करिब साढे चार तोला सुनका गहना सहित ५० हजार नगद चोरी भएको हो । बन्दनाको करिब एक तोला र कमल कुमारी श्रेष्ठको साढे दुई तोलाको सुनको सिक्री र सानुमायाँको घरबाट नगद पचास हजार सहित एक तोला बराबरको तिलहरी चोरी भएको पीडितले जिल्ला प्रहरी कार्यालयमा दिइएको उजुरीमा उल्लेख छ । कालो मास्क लगाएर आएका मानिसले मूल ढोका तोडफोड गरी सुनका गहना र नगद चोरी गरेको उनीहरुले प्रहरीलाई बताएका छन् ।

रातको करिब दुई बजे नाक र मुख छोपेर सुतिरहेको अवस्थामा ओछ्यानबाटै घाँटीको सिक्री चुँडेर लगेको कमलकुमारीको परिवारले बताएको छ ।

चोरीमा संलग्नलाई यथासीघ्र पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै उनीहरुले प्रहरीमा उजुरी दिएका छन् ।

घटनाका विषयमा अनुसन्धान भैरहेको र चोरीमा संलग्नहरुको खोजी भैरहेको एसपी ओम अधिकारीले जानकारी दिए । चोरीका घटनाबाट बच्नका लागि आफु चनाखो हुन उनले सबैसँग आग्रह गरेका छन् । आफ्ना वरपर असामान्य शंकास्पद गतिविधि भए पैसा नलाग्ने फोन नं १०० मा प्रहरीलाई फोन गरेर जानकारी दिन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्