
यो बर्खामा पहिरोले गोरखाका बिभिन्न गाउँका २१ घर बिस्थापित
अबिरल बर्षापछिको पहिरोले गोरखाका बिभिन्न गाउँका २१ घर बिस्थापित भएका छन् । धार्चे गाउँपालिका ६ यार्सागाउँका दुई घरपरिबार, आरुघाट गाउँपालिका ५ भल्छौरेका १३ घर, सोही गाउँपालिका वडा न. १ धोरतका चार घर र पालुङ्टार नगरपालिका १० धौखोलाका दुई घर बिस्थापित भएका हुन् ।
गत बिहिबारको अबिरल बर्षापछि झरेको पहिरोले यार्सागाउँका आठ घर जोखिममा रहेको र दुई घरपरिबार बिस्थापित भएको वडा अध्यक्ष धनकुमार घलेले जानकारी दिए । सोनु घले र कान्छा घलेको परिबार बिस्थापित भएका उनले बताए । पहिरोले घर जोखिम भएपछि खम्बा घले, छनछवीर घले, जस घले, सुकबहादुर घले, ठूलो कान्छा घले, टेम्बा घले र पशुपति घलेको घर पनि जोखिममा रहेको घलेले बताए ।
गत साउन ८ गते परेको अबिरल पानीसँगैको पहिरोले आरुघाट गाउँपालिका १ धोरतका सानुमायाँ गुरुङ, चन्द्रबहादुर घले, सुम्बा गुरुङ र जया गुरुङको परिवार विस्थापित भएका गाउँपालिकाका अध्यक्ष पुर्ण दाहालले जानकारी दिए । वरपर पहिरो खसेपछि जोखिम बढेकाले उनीहरु घर छाड्न बाध्य भएको अध्यक्ष दाहालको भनाई छ ।
उनीहरु बर्षायामभरि बारीमा टहरा बनाएर बस्नुपर्ने भएको अध्यक्ष दाहालले बताए । ‘घर जोखिम भएपछि उनीहरुले घर छाडेका छन्’, उनले भने, ‘भूकम्पपछि बनेका गाउँका केहि घरमा मान्छे नबसेको भए त्यस्ता घरमा पनि बस्ने ब्यबस्था मिलाउन समुदायलाई भनेको छु ।’ विस्थापित परिवारलाई अस्थायी बसोबासका लागि आबश्यक त्रिपाल, टेन्ट र डोरी नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाले उपलब्ध गराएको सोसाईटीका सुवास घिमिरेले जानकारी दिए ।
यसअघि गत असार २९ र ३० गतेको लगातारको बर्षाले गाउँमाथि र तल दुबैतिरबाट पहिरो खसेपछि आरुघाट गाउँपालिका ५ रानागाउँ भल्छापेका १३ घर विस्थापित भएका गाउँपालिका अध्यक्ष दाहालले जानकारी दिए ।
लगातारको बर्षाले गाउँमा पहिरो आएपछि ढलबहादुर राना, मानबहादुर राना, बिरबहादुर राना, सुनिल राना, तुलबहादुर आले, किम बहादुर राना, खिलबहादरु राना, चुनादेवी राना, सिर्जना राना, श्रीबहादुर राना, कुलबहादुर आले, उमा आले मगर र चक्रबहादुर रानाको परिवार विस्थापित भएका उनले जानकारी दिए ।
पहिरोका कारण स्थानीयबासी त्रसित भएका छन् । उनीहरुलाई हिमाली सामुदायिक वनले उपलब्ध गराएको देउराली डाँडाको सात रोपनी जग्गामा स्थानान्तरण गरिएको छ ।
विस्थापित परिवारलाई स्थानान्तरणका लागि नेपाल रेडक्रस सोसाईटी गोरखाले प्रतिघर दुई थान त्रिपाल र एक थान टेण्ट उपलब्ध गराएको छ । विस्थापितलाई सहयोगका लागि जिल्ला विपद ब्यबस्थापन समितिमा पनि पत्राचार गरेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै पालुङ्टार नगरपालिका वडा नं. १० धौखोलाका डिलबहादुर बिक, हिराबहादुर बिक बिस्थापित भएका छन् । जोखिम भएपछि स्थानीय टिकामान बिक, अमृत बिक, बाबुराम बिक र दीपक बिकको घर पनि जोखिममा परेको वडा अध्यक्ष ऋषिराम धौरालीले जानकारी दिए ।
सडकको नाली खन्दा घरको आँगनसम्मै पहिरो झरेपछि उनीहरुको घर जोखिममा रहेको अध्यक्ष धौरालीले बताए ।
ठाउँ ठाउँमा झरेको पहिरोले सोतीदेखि माछाखोलासम्मको बाटो पनि अबरुद्ध भएको स्थानीय कमल घलेले बताए ।




