
अनियमितता गर्नेमाथि फँणा उठाउनू, ठुँगी नहाल्नू : डिआइजी घिमिरे
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी विनोद शर्मा घिमिरेले नियम कानून मिच्नेबिरुद्ध फँणा उठाउन माताहतका प्रहरीलाई निर्देशन दिएका छन् । शनिबार गोरखामा आयोजित समुदाय ट्राफिक प्रहरी तथा सरोकारवालाहरुको सम्मेलनमा बोल्दै उनले प्रहरीको धर्म भनेको नै अनियमितता गर्ने विरुद्ध गर्जन निर्देशन दिएका हुन् ।
‘जसले अनियमितता गर्छ, उसमाथि फँणा उठाउनू, तर ठुँगीचाहिँ नहाल्नु, यो मेरो निर्देशन हो’, उनले भने, ‘जसरी पहाडका खोलानालाको सुन्दरता भनेको गड्गडाउनु हो, त्यसरी नै प्रहरीको सुन्दरता भनेको नियम कानून मिच्नेहरु बिरुद्ध खनिनु हो । उनीहरु बिरुद्ध प्रहरी खनिएन भने त्यस्तो प्रहरीको अर्थ हुदैन ?’
चोक र गल्लीमा बल्छी थाप्ने काम बन्द गर्न पनि उनले माताहतका प्रहरीलाई निर्देशन दिएका छन् । ‘बल्छी थाप्ने प्रहरी अब प्रहरी सेवामा अट्दैन’, उनले भने, ‘प्रहरीमा आइसकेको घटना अब मिलापत्र हुनेछैन । प्रहरीको काम मिलापत्र गराउने होइन । प्रहरीमा आइसकेपछि मुद्धा दर्ता भई अनुसन्धान सुरु गरिहाल्नू ।’
प्रहरीको बढिजसो देखिने रुप भनेको नै ट्राफिक प्रहरी भएकाले ट्राफिक ब्यबस्थापनमा कुनै खालको गुनासो आउन नदिने गरी काम गर्ने उनले बताए । सानो सवारी साधन र ठूलो सवारी साधन ठक्कर खाएमा अनुसन्धान नगरी ठूला सवारी साधनलाई मात्र कारबाही गर्ने प्रथा अब बन्द हुने उनले बताए । ‘ठूला सवारी साधन र साना सवारी साधन यदि ठोक्किए भने जसले गल्ती गर्छ, उसले कारबाही खान्छ । यो परम्परा मबाटै सुरु भएको छ, यो मेरो निर्देशन हो’, डिआईजी घिमिरेले बताए ।
तर प्रहरीले स्रोतसाधनको अभाव झेलिरहेको उनले बताए । ‘स्रोत साधन त परको कुरा, ट्राफिक प्रहरीले अधिकार पनि यातायात ब्यबस्था कार्यालयसंग सापट लिएर काम चलाइरहेको छ’, उनले भने, ‘त्यसैले प्रहरीले हरेक कुरामा समुदायसंग सहकार्य गर्नुको बिकल्प छैन ।’
कार्यक्रममा बोल्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले ट्राफिक प्रहरीले दिनदहाडै राजमार्गहरुमा बल्छी थाप्ने हर्कत गरिरहेको भन्दै आलोचना गरे । यातायात क्षेत्रमा कुनै न कुनै रुपमा सिण्डिकेटको धङधङी विद्यमान रहेको, ठूलो गाडी र सानो गाडी ठोक्किए अनुसन्धान नगरी ठूलो सवारी साधनलाई कारबाही भइरहेको, रातो प्लेटका कारहरुले भाडाको यात्रु ओसार्ने गरेको चर्चा गरेका थिए ।




