| आइतवार, कार्तिक २२, २०८३

सेनाबाट हतियारसहित तत्कालीन माओवादीमा गएका विक्रम गुरूङलाई दस वर्ष जेल

नेपाली सेनामा कार्यरत रहँदा हतियार र गोलीसहित तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीमा गएका गोरखा आरूपोखरीका विक्रम गुरूङलाई सैनिक अदालतले दस वर्षका लागि जेल पठाएको छ।

सेनाका सिपाही गुरूङ जनमुक्ति सेना नेपाल तेस्रो डिभिजन अन्तर्गत सेक्सन कमाण्डर पनि भएका थिए। तर उनी नेपाली सेनासँग जनमुक्ति सेना समायोजन गर्दा समायोजनमा परेका थिएनन्।

माओवादीमा उनको नाम विद्रोह थियो। २०६३ साउन ३० गते हतियार र गोलीसहित भागेपछि सेनाले गुरूङविरूद्ध ऐनअनुसार हातहतियार र भगौडा कसूरमा मुद्दा चलाएको थियो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले  भने, ‘गुरूङलाई कारबाही गरेको जानकारी हामीलाई आएको छ।’

कलंकीमा होटल सञ्चालन गर्दै आएका गुरूङलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर नेपाली सेनाको जिम्मा लगाएपछि चितवनस्थित कालिबहादुर गण लगिएको थियो। गत आइतबार उनलाई सैनिक अदालतले दस वर्ष थुनामा राख्न पठाएको हो।

प्रतिक्रिया दिनुहोस्