
१६ किलो सुन प्रकरण : राजस्व अनुसन्धान विभागले अनुसन्धान थाल्यो
किरण लोहनी :
गोरखामा बिहीबार सुन बरामद भएको घटनामा राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सुन सहित मुख्य आरोपित धनकमल गुरुङलाई शुक्रवार विभागको जिम्मा लगाएको हो ।
काठमाण्डौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको विभागका अनुसन्धान अधिकृत रामप्रसाद रेग्मीले बताए । विभागले राजस्व चुहावट र विदेशी मुद्रा अपचलन सम्बन्धी मुद्धामा अनुसन्धान थालेको हो ।
गोरखाको धार्चे गाउँपालिका केरौंजा घर भएका धनकमलले नै तिब्बतबाट सुन ल्याएको प्रहरीको प्रारम्भिक बयानमा बताएका छन् । उनी खच्चड ब्यवसायी हुन् । गत असार ११ गते रातिदेखि सम्पर्कविहिन भएका गुरुङलाई प्रहरीले बिहिबार बिहान धार्चे गाउँपालिका ३ बाटै नियन्त्रणमा लिएको थियो ।
सोही वडाको खोर्लाबेशीस्थित एक ओडारमा उनले १६ किलो सुन लुकाएका थिए । ‘चोरी पैठारी गरेर राजस्व चुहावट गरेको अभियोगमा अनुसन्धान सुरु गरेका छौं, विदेशी मुद्रा अपचलनको पनि शंका छ, हामी दुई कोणबाट अनुसन्धान अघि बढाउँछौं’ निर्देशक रेग्मीले भने, ‘उक्त सुन चीनबाट ल्याएको खुलेको छ, त्यसको भुक्तानी नेपालबाट गएको हो कि होइन ? कुन बाटोबाट गयो, को को संलग्न छन् भन्नेबारे खुल्न सक्नेसम्मको अनुसन्धान गर्छौं ।’ उक्त सुन प्रकरणमा धनकमल सहित अन्य ब्यक्तिहरु पनि संलग्न भएको प्रहरीको आशंका छ ।
तीन जनाभन्दा बढी ब्यक्ति संलग्न भएको अपराधलाई संगठित अप राध मानेर सोही अनुसार छुट्टै अनुसन्धान हुन्छ । ‘हामीले गर्ने अनुसन्धानका क्रममा संगठित अप राध भएको देखिन आएमा प्रहरीसँग आवश्यक सहकार्य गर्छौं’, निर्देशक रेग्मीले भने, ‘अहिले हामीले गर्ने अनुसन्धान चाहिँ राजस्व चुहावट र विदेशी मुद्रा अपचलनमा केन्द्रित हुनेछ ।’ राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन अनुसार सुन जफत गरेर बिगोको दुई गुणासम्म जरिवाना र ३ वर्षसम्म कैद हुने ब्यवस्था छ । सुन आयातका क्रममा विदेशी मुद्रा अपचलन भएको पनि विभागको शंका छ । त्यस अनुसार थप दण्ड जरिवाना हुनेछ ।
प्रहरीले बरामद गरेको १६ किलो सुन भने राजस्व अनुसन्धान विभागले नेपाल राष्टू बैङ्कलाई बुझाउनेछ । ‘हामीले राखिरहन असुरक्षित हुने भएकाले हामी सुन राष्टू बैङ्कलाई बुझाउँछौं, राष्टू बैङ्कले गालेर त्यस बराबरको मूल्य विभागको धरौटी खातामा जम्मा हुन्छ ।’ अनुसन्धान निर्देशक रेग्मीले भने, ‘राष्टू बैङ्कले गालेको सुन उसको ब्राण्ड तथा लोगो सहित बाहिरी बजारमा बिक्री हुन्छ भने त्यस वापतको पैसा चाहिँ सरकारी खातामा रहन्छ, अनुसन्धान तथा तहकिकातमा संलग्नहरुलाई सोही पैसाबाट अदालतले फैसला गरे अनुसारको रकम प्रोत्साहन स्वरुप उपलब्ध हुन्छ ।’ राजस्व अनुसन्धान विभागले आफ्नो प्रक्रिया पूरा गरेपछि मुद्धा जिल्ला अदालत गोरखामा पठाउँछ । अदालतले गर्ने फैसलाका आधारमा सुन प्रकरणको टुंगो लाग्नेछ ।




