
धनकमल लगायत सात जना २५ दिनदेखि बेपत्ता
गत असार ११ गते रातीदेखि रहस्यमय रुपमा गायब भएका यारुबगरका व्यवसायी धनकमल गुरुङको अबस्था २५ दिनसम्म अज्ञात नै छ ।
खोज अनुसन्धानका लागि निरन्तर रुपमा प्रहरी परिचालन गर्दा पनि उनको अबस्था पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारी बताउँछन् । ‘उनको खोजी गर्न इन्स्पेक्टरसापको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ’, एसपी अधिकारीले भने, ‘धनकमल प्रहरीको सम्पर्कमा नआएको हो, परिबारको संपर्कमा बेला बेला आएको छ ।
अन्य सामानको हकमा केही फेला पार्न सकेको छैन ।’ उनी र अन्य छ जना पनि हराइरहेको एसपी अधिकारीको भनाइ छ । हराइरहेका बुबालाई खोजिपाउँ भनेर धनकमलका छोराले जिप्राका गोरखामा निवेदन दिएका छन् ।
गत असार ११ गते राती १० बजे खच्चड धपाउँदै माछाखोलातर्फ आएका धनकमलमाथि आक्रमण गर्ने नौ जनामध्य तीनजनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अरु छ जना फेला पार्न सकेको छैन । ठूला डाँडाकाडा, वनजंगल र बर्खाको बेलाको बुढीगण्डकीका कारण खोजतलास गर्न कठिन भएको प्रहरीको भनाइ छ ।
स्थानीयबासीले भने लेकतिर, गोठ आसपास नै हुनसक्ने आशंका गरेका छन् । आक्रमण गर्ने पनि भाग्ने र पीडित पनि भागेका कारण घटना रहस्यमय बन्दै गइरहेको प्रहरी बताउँछ ।




