
पहिरोका कारण गोरखा आरुघाट भल्छौरेका १३ घर बिस्थापित
आरुघाट गाउँपालिका ५ भल्छौरे गाउँका १३ घरपरिवार पहिरोबाट विस्थापित भएका छन् ।
असार २९ र ३० गतेको लगातारको बर्षाले गाउँमाथि र तल दुबैतिरबाट पहिरो खसेपछि राना गाउँ भल्छौरेका १३ घर विस्थापित भएका गाउँपालिका अध्यक्ष पुर्ण दाहालले जानकारी दिए ।
लगातारको बर्षाले गाउँमा पहिरो आएपछि ढलबहादुर राना, मानबहादुर राना, बिरबहादुर राना, सुनिल राना, तुलबहादुर आले, किम बहादुर राना, खिलबहादरु राना, चुनादेवी राना, सिर्जना राना, श्रीबहादुर राना, कुलबहादुर आले, उमा आले मगर र चक्रबहादुर रानाको परिवार विस्थापित भएका उनले जानकारी दिए ।

पहिरोका कारण स्थानीयबासी त्रसित भएका छन् । उनीहरुलाई हिमाली सामुदायिक वनले उपलब्ध गराएको देउराली डाँडाको सात रोपनी जग्गामा स्थानान्तरण गरिने भएको छ । स्थानान्तरतणका लागि जग्गा ब्यबस्थापन गरेर अस्थायी बसोबसाका लागि टेन्ट हाल्ने प्रक्रिया चलेको गाउँ पालिकाले जनाएको छ ।
विस्थापित परिवारलाई स्थानान्तरणका लागि नेपाल रेडक्रस सोसाईटी गोरखाले प्रतिघर दुई थान त्रिपाल र एक थान टेण्ट उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालय र आरुघाट गाउँपालिकाको समन्वयमा त्रिपाल उपलब्ध गराएको नेपाल रेडक्रस सोसाईटीका सुवास घिमिरेले जानकारी दिए । गाउँपालिकाले विस्थापितलाई सहयोगका लागि जिल्ला विपद ब्यबस्थापन समितिमा पनि पत्राचार गरेको जनाएको छ ।




