
उर्लेको माछाखोलाले बजार ताकेपछि बजारबासी त्रसित
केही दिनदेखिको निरन्तरको बर्षाले माछाखोला बजार जोखिममा परेको छ ।
माछाखोलामा पानीको सतह बढेपछि खोलाले बजारतिर कटान गर्दै आएको स्थानीय धनकुमार गुरुङले जानकारी दिए ।‘अलिअलि पानी पर्न थाल्दैमा खोलाले बजारतिर ताकेको छ’, उनले भने, ‘म्याग्दीको बेनीबजार जस्तो हुन्छ कि भनेर बजारका बासिन्दा डराएका छन् ।’ बजारतर्फ कटान बढिरहेको उनले बताए ।
पानीको सतह बढेर बजारतर्फ कटान हुन थालेपछि स्थानीय ब्यबसायी धनकुमार गुरुङले डोजर लगाएर विपरीत तर्फ खोतलेर धार परिवर्तन गर्ने प्रयास गरेका छन् । ‘तार जालीको पर्खाल समेत बगाएको छ’, उनले भने, ‘मैले आफ्नै खर्चमा डोजर लगाएर खोला उता तर्काउने प्रयास त गरेको छु, तर यस्तो अस्थायी कामले खोला उता जाँदैन । गहिरो जग खनेर ढलान गरी पर्खाल लगाउनुपर्छ ।’
स्थानीय सरकार, जिल्ला तथा प्रदेश सरकारले माछाखोला बजारको सुरक्षाको व्यबस्था गर्न उनले माग गरे ।
माछाखोला बजार धार्चे गाउँपालिकाकाको केन्द्र पनि हो । बजारलाई जोगाउन गाउँपालिकाले आउँदो बर्ष कार्यक्रम बनाएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । गाउँपालिकाको कोषबाट एक करोड बिनियोजन गरेको र थप बजेटका लागि दातृ निकायलाई गुहार्ने उनले बताए ।




