
अबैध सुन चोरी पैठारीको बिगबिगी, लार्के भन्सार बर्षौदेखि बन्द
गोरखाको उत्तरी नाकाबाट अबैध रुपमा सुन आयातको घटना बढिरहेको छ तर, सीमानामा रहने भन्सार कार्यालय कर्मचारीबिहिन भएको बर्षौं भएको छ ।
गोरखाको एक मात्र भन्सार लार्के भन्सार कार्यालय नखुलेको बर्षौं भइसकेको स्थानीय विशाल हिमाली घले बताउँछन् ।
‘हामीले थाहा पाएदेखि नै सुचार भएको छैन । अब कार्यालय खुलाउने भनेर दुईबर्षअघि एकजना कर्मचारी आउनु भएको थियो । केहीदिन बसेर उहाँ पनि गएपछि अरु कोही आएको पनि छैन, कार्यालय खुलेको पनि छैन’, चुमनुब्री गाउँ कार्यपालिकाका सदस्य समेत रहेका घलेले भने, ‘भन्सार कार्यालय मेरो घरसंगै जोडिएको छ । कर्मचारी आएको भए, कार्यालय खुलाएको भए त म देखिहाल्थेँ नि ।’

भन्सार बिभागले लार्केभन्सार कार्यालयका लागि वुद्धमान शिरिषलाई खटाएको थियो तर उनी कार्यालयमा नबसेका स्थानीय बासीको भनाइ छ ।
चुमनुब्री गाउँपालिकाका वडा नं. १ को साबिक सामााउँ गाविस, वडा नं. २ को साबिक ल्हो गाविस, वडा नं. ४ को साबिक प्रोक गाविस, वडा नं. ५ को साबिक बिही गाविस, वडा नं. ६ को साबिक चुम्चेत र वडा नं. ७ को साबिक छेकम्पार गाविसका बासिन्दा तिब्बती बजारबाट सामान ल्याएर उपभोग गर्ने गर्छन् । तर उनीहरुले सामान ल्याएबापत राजस्व तिर्ने ठाउँ नभएको लार्केभन्सार कार्यालयसंग घर भएका अर्का गणेश कार्कीले जानकारी दिए ।
‘सीमाना आसपासका धेरै गाउँलेहरु प्राय उपभोग्य सामान तिब्बतबाट ल्याउँछन् तर उनीहरुले चाहेर पनि राजस्व तिर्ने ठाउँ छैन’, मनास्लु क्षेत्रको होटल ब्यबस्थापन समितिका संयोजक समेत रहेका उनले भने, ‘वैधानिक रुपमा कर तिरेर सामान ल्याउन पाउने ब्यबस्था भए त हामी पनि कति सामान ल्याउँथ्यौं । तल(सदरमुकाम)बाट खच्चडमा सात आठ दिनको बाटो बोकाएर ल्याउनु पर्छ । तिब्बतबाट बिधिवत रुपमा ल्याउन पाए दुई दिनमा ल्याउन सकिन्छ ।’ स्थानीयबासीले चामल, सिमेण्ट, रड, रक्सी, बियर, ह्वीस्की, जिम्बु, छाला, सोलार पाताहरु राजस्व नतिरी आयात हुने उनले बताए ।
तल(बजार)बाट सामान बोकेर आउने खच्चड फर्कदा वैधअवैध कस्ता सामान ओसारिरहेको हुन्छ भन्ने बारे चासो दिने निकाय नभएको कार्की बताउँछन् । ‘टिपका टिप खच्चड ओहोरदोहोर गरिरहेका हुन्छन् । हेर्ने निकाय छैन । त्यसको फाइदा तस्करले उठाइरहेका छन्’, उनले भने, ‘गतबर्ष १० किलो सुन फेला प¥यो । अहिले पनि सात जना मान्छे शंकास्पद रुपमा फरार छन् । बद्मासी भएको छ भन्ने हल्ला व्याप्त छ । करोडौंको यार्सागुम्बा संकलन, ओसारपसार भइरहेको छ । १३ जना चाइनिज ब्यापारी आएर लगेका छन् । तर कुनै निकायले पनि नियमन गरेको छैन । जनताले पैसा त कमाए, सुविधा पाए, तर राज्यले के पायो ?’
उत्तरी नाकालाई ब्यबस्थित गर्न नसकेको भन्सार बिभागकी उपमहानिर्देशक मनमाया पङ्गेनी बताउँछिन् ।
‘हाम्रो उत्तरी नाका छ वटा छन । जसमध्य रसुवाको मात्र ब्यबस्थित छ’, उनले भनिन्, ‘ठूलो परिमाणमा कारोबार नभएर पनि यिनीहरुलाई ब्यबस्थित गर्न नसकिएको हो ।’
सुन लगायतका अवैध पैठारी नियन्त्रण गर्न प्रहरीको बढि दायित्व रहेको उनले तर्क गरिन् ।




