| आइतवार, कार्तिक २२, २०८३

धनकमल बेपत्ता घटना झनझन रहस्यमय बन्दै

बुधबार रातीदेखि गायब भएका यारुबगरका व्यवसायी धनकमल गुरुङको अबस्था चारदिनसम्म अज्ञात छ । व्यापक रुपमा प्रहरी परिचालन गर्दा पनि उनको अबस्था पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावल बताउँछन् ।

‘उनको खोजी गर्न माछाखोला, मान्बु, फिलिम, जगत, छेकम्पार, घ्याम्पेशालदेखिका प्रहरी परिचालन गरिएको छ’, एसपी रावल भन्छन्, ‘चारदिनभयो, उपलब्धी सुन्य नै छ ।’

स्थानीयबासीले भने गाउँ आसपास नै हुनसक्ने आशंका गरेका छन् । ‘परिबारसंग बेलाबेला संपर्क हुन्छ भन्ने सुनिन्छ’, स्थानीय राकेश गुरुङ भन्छन्, ‘तर अरुसंग किन सम्पर्कबिहिन भइरहेका हुन्, रहस्यमय नै छ ।’

गत बुधबार राती १० बजे खच्चड धपाएर माछाखोलातर्फ जाँदैगर्दा उनी बाटोबाटै गायब भएका थिए । चारपाँच जना अज्ञात व्यक्तिहरुले उनीमाथि आक्रमण गरेका प्रत्यक्षदर्शीहरु बताउँछन् । उनीमाथि आक्रमण हुनु, तर न्याय माग्नुको साँटो उनी आफै हराएपछि घटना दिनानुदिन रहस्यमय बन्दै गइरहेको प्रहरी बताउँछ ।

बेलाबेला घरमा टेलिफोन गरी आफू सुरक्षित रहेको र चिन्ता नगर्न आग्रह गर्ने गरेको घटनाले सो घटनालाई झनझन जटिल र रहस्यमय बनाउँदै लगेको स्थानीयबासी बताउँछन् ।

घटनामा संलग्नको आशंकामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । उनको खोजीमा स्थानीयबासीले
सहयोग नगरेको प्रहरीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्