
शिक्षिकाको कुटाइबाट गोरखाका १० बर्षे बालक घाइते
गोरखा नगरपालिका ११ स्थित सेन्ट जोसेफ स्कूलमा पढ्ने १० बर्षीय बालकलाई शिक्षिकाले कुटेर घाइते बनाएकी छन् । कक्षा पाँचमा पढ्ने श्रीयन्स श्रेष्ठलाई विज्ञान विषय पढाउने शिक्षिका मनिषा मगरले सोमबार दिउसो कुटेर घाइते बनाएको बालककी आमा सुजना श्रेष्ठले जानकारी दिइन् ।
सोही नगरपालिका १० छेपेटार निवासी घाइते बालकलाई गोरखा जिल्ला अस्पतालमा उपचार गरिएको छ । उनको ढाड, हातमा जताततै निलडाम छ । उनले बान्ता पनि गरेको बालककी आमा सुजनाले जानकारी दिइन् ।
किताब नल्याएको भन्दै फलामको रुलरले कुटेको घाइते बालकले बताए । ‘पाँचौ पिरेड विज्ञान मिसको थियो । मिसले खै किताब भनेर सोध्नु भयो । मैले छ भनेँ’, बालकले भने, ‘मैले किताब त ल्याएको थिएँ, तर साथीले लुकाइदिएछ । देखाउन सकिन । अनि ढाँट्छस् भनेर कुट्न थाल्नु भयो ।’

आफ्ना छोरालाई निर्घात कुट्ने शिक्षिकालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बालककी आमा श्रेष्ठले बताइन् ।
शिक्षिकाको कुटाइबाट घाइते भई गोरखा अस्पतालमा उपचाररत बालक श्रीयन्स श्रेष्ठ ।
तस्वीर ः शिव उप्रेती




