
विप्लव पार्टीका जिल्ला सेक्रेटरी भट्ट रिहा
दरौंदी : विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्ट रिहा भएका छन् । उच्च अदालत पोखराको आदेशमा भट्ट मंगलबार रिहा भएका हुन् ।
उनी दोस्रो पटक गत वैशाख २७ गते पक्राउ परेका थिए ।
प्रहरीले उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत मुद्धा दर्ता गरी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । २० दिन थुनामा रहेका उनी मंगलबार रिहा भएका हुन् ।

यसअघि राज्यद्रोहको मुद्धा अन्तर्गत उनी र सोही पार्टीका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल पक्राउ परेका थिए । उनीहरु दवैलाई जिल्ला अदालत गोरखाले पाँच हजार धरौटीमा रिहा गरेको थियो । रिहा गरेलगत्तै प्रहरीले फेरि नियन्त्रणमा लिएको थियो । कुमाल भने अझै थुनामा छन् ।
भट्टले गैरकानूनी हिरासतमा राखेको हुनाले रिहा हुन पाउँ भनी उच्च अदालत पोखरामा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।




