| आइतवार, कार्तिक २२, २०८३

किर्ते हस्ताक्षर गरी बन्दै नबनेको घरको किस्ता रकम झ्वाम

 

किरण लोहनी
गोरखाका एक भूकम्पपीडितले पुनर्निर्माणमा खटिएका प्राविधिकसँगको मिलेमतोमा किर्ते हस्ताक्षर गरी अनुदान रकम बुझेको खुलासा भएको छ । वडाध्यक्ष र वडामा खटिएका प्राविधिकको किर्ते हस्ताक्षर गरी दोस्रो किस्ताको अनुदान रकम झिक्ने ती भूकम्पपीडित लाभग्राहीलाई प्रहरीले पक्राऊ गरी मुद्धा चलाएको छ ।
जिल्लाको सिरानचोक गाऊँपालिका वडा नम्वर ७ श्रीनाथकोटका ३० वर्षका विष्णु घिमिरेलाई प्रहरीले पक्राऊ गरेको हो । चितवन बस्दै आएका उनको नाम भूकम्पपीडित लाभग्राही सूचीमा छ । घर निर्माणका लागि अनुदान सम्झौता गरी पहिलो किस्ताको ५० हजार बुझेर पनि उनले घर बनाएका थिएनन् ।

पहिलो किस्ताको ५० हजार रुपैयाले डिपिसिसम्मको काम सकेपछि प्राविधिकको सिफारिसमा मात्रै दोस्रो किस्ताको रकम पाउने प्रावधान छ । तर घिमिरेले वडाध्यक्ष सुरज ढकाल र सो वडामा खटिएका प्राविधिक प्रकाश तिमिल्सिनाको नक्कली हस्ताक्षर गरी दोस्रो किस्ताको १ लाख ५० हजार रुपैया निकालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बताए । ।
‘उनलाई नक्कली कागजात खडा गर्न जिल्लाको भीमसेन थापा गाऊँपालिकाको तान्द्राङमा खटिएका सव इन्जिनियर बलराम घिमिरेले सहयोग गरेको खुलेको छ’, डिएसपी नेपालले भने, ‘एउटा क्षेत्रको प्राविधिकले अर्कै वडामा खटिएका प्राविधिकले भर्नुपर्ने फाराम भरिदिएको र नक्कली हस्ताक्षर समेत गरिदिएको देखिन्छ ।’


नक्कली हस्ताक्षर गर्ने घिमिरे प्राविधिक हकहित संघर्ष समितिका जिल्ला अध्यक्ष समेत हुन् । उनी हाल फरार रहेको प्रहरीले जनाएको छ ।
दोस्रो किस्ताको अनुदान सिफारिस गर्नुअघि प्राविधिकले प्रथम निरीक्षण फाराम र अनुसूची १४ अन्तर्गतको दुई वटा फाराम भर्नुपर्छ । त्यसपछि घर निर्माणको निरीक्षण गरेका प्राविधिक र वडाध्यक्षले हस्ताक्षर गरेपछि अनुदान प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने प्रावधान छ । बन्दै नबनेको घरको निरीक्षण फाराम र अनुसूची भर्न तान्द्राङमा खटिएका प्राविधिक बलराम घिमिरेले सहयोग गरेको खुलेको डिएसपी नेपालले बताए । ‘प्राविधिक घिमिरेले नै श्रीनाथकोटमा खटिएका इन्जिनियर प्रकाश तिमिल्सिना र वडाध्यक्ष सुरज ढकालको नक्कली हस्ताक्षर गरेको खुलेको छ’, डिएसपी नेपालले भने ।
घर बनाउन शुरुनै नगरेका ब्यक्तिले दोस्रो किस्ताको रकम बुझिसकेको पाइएपछि आफूहरु आश्चर्यमा परेको वडाध्यक्ष सुरज ढकालले बताए । आफ्नो हस्ताक्षर किर्ते गरेको पाइएपछि सो क्षेत्रमा खटिएका इन्जिनियर प्रकाश तिमिल्सिनाले भवन अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईमा जानकारी गराएका थिए । ‘हामीकहाँ त सबै फाइल दुरुस्त आयो, हामीले अनुदानका लागि प्रक्रिया पनि अघि बढायौं’ इकाईका इन्जिनियर युवक श्रेष्ठले भने, ‘श्रीनाथकोटमा खटिएका इन्जिनियरले आफूले किस्ता सिफारिसनै नगरेको बताएपछि नक्कली काम भएको थाहा भयो ।’ लाभग्राही घिमिरेले बैङ्कबाट अनुदान रकम झिकिसकेका थिए । लाभग्राही घिमिरेले केही रकम किर्ते कागज बनाउन सहयोग गर्ने प्राविधिक घिमिरेलाई पनि दिएको स्वीकार गरेको प्रहरीको भनाई छ । भवन अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख सुनिता श्रेष्ठले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै छानविन गरी कारवाही गर्न आग्रह गरेपछि प्रहरीले अनुसन्धान थालेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा लााभग्राहीसँगै अर्कै वडामा खटिएका प्राविधिकको पनि संलग्नता रहेको पुष्टि भएको डिएसपी नेपालले जानकारी दिए । लाभग्राही विष्णु घिमिरेलाई फौजदारी अपराध संहिता ऐन २०७४ अनुसार लिखत सम्बन्धी कसूरमा मुद्धा दर्ता गरि अनुसन्धान भैरहेको उनले बताए । फरार रहेका सव इन्जिनियर घिमिरेको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्