
मिडिया काउन्सिल विधेयकको विरोधमा गोरखाका पत्रकारद्धारा प्रदर्शन
गोरखाका पत्रकारहरुले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ गोरखाको आयोजनामा जिल्लामा क्रियाशील पत्रकारहरुले सडकमा सञ्चार सामाग्री प्रर्दशन गर्दै विरोध गरेका हुन् । जिविस चोकमा शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म आफूले प्रयोग गर्दै आएका क्यामेरा, डायरी, डटपेन, रेकर्डर ल्यापटप लगायत संचार सामाग्री सडकमा प्रर्दशन गर्दै उनिहरुले विरोध प्रदर्शन गरेका हुन् । सरकारले ल्याउन लागेको विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै पहिलो चरणको आन्दोलन अन्तर्गत पत्रकारहरु संचार सामग्रीसहित आन्दोलनमा उत्रिएका हुन् ।
विरोध कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक संसोधनको माग गरे । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन गर्न माग गरे । विधेयक कानुनको रुपमा आएमा नेपालमा स्वतन्त्र पत्रकारिता नरहने उनको भनाई छ । विधेयकमा भएको व्यवस्थाअनुसार मिडिया काउन्सिलको पदाधिकारी नियुक्तिले मिडिया काउन्सिलको स्वायत्तता लाई रक्षा नगर्ने भन्दै उनले काउन्सिल गठन प्रक्रिया गलत रहेको ठहर गरे।
विधेयकमा रहेका प्रेसविरोधी प्रावधान हटाउन महासंघले माग गर्दै आएको छ। महासंघले मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ। प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ‘मिडिया काउन्सिल’ विधयेक संसदमा दर्ता भएको भन्दै चौतर्फीरुपमा विरोध भइरहेको छ।




