
अबैध हतियार बुझाउन जिल्ला प्रशासनको ३५ दिने अल्टिमेटम
जिल्ला प्रशासन कार्यालय गोरखाले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ ।
मन्त्रीपरिषदको गत फागुन २८ गते बसेको बैठकको निर्णयका आधारमा प्रशासनले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन सार्वजनिक सुचना मार्फत आह्वान गरेको हो ।
सुचनामा स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन भनिएको छ ।
ती हतियार बुझाउनलाई सरकारले ३५ दिनसम्मको अल्टिमेटम दिएको छ ।
यो अवधिमा हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाह हुने सुचनामा उल्लेख छ । इजाजत नलिई आफुसँग भएका हातहतियार तोकिएको अबधिमा नबुझाएमा त्यस्ता ब्यक्तिमाथि कानुन अनुसार कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । कानुन बमोजिम लिनुपर्ने इजाजत नलिई वा इजाजत पत्र नविकरण नगराई हतियार राख्न पाईदैन ।
इजाजत प्राप्त ब्यक्तिको मृत्युपश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य कुनैै तरिकाले राखेका हातहतियार, खरखजना पनि सुरक्षाकर्मीलाई अनिवार्य बुझाउन प्रशासनले सुचना मार्फत आग्रह गरेको छ ।




