| आइतवार, कार्तिक २२, २०८३

बालुवा चोर पक्रने प्रहरीलाई सहिद लखनले इनाम दिने

किरण लोहनी : गोरखाको सहिदलखन गाउँ पालीकाले नदीजन्य पदार्थको तस्करी नियन्त्रणका लागि प्रहरी लाई प्रोत्साहन भत्ता दिने भएको छ ।
अवैध रुपमा ओसारपसार भैरहेको नदीजन्य पदार्थ नियन्त्रण गर्ने प्रहरीलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको हो । गाउँ कार्यपालिकाको पछिल्लो बैठकले नियन्त्रणमा लिइएको नदिजन्य पदार्थबाट असुल हुने जरिवाना रकमको १५ प्रतिशत सम्बन्धित प्रहरी चौकीलाई उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष रमेश थापामगरले बताए । ‘जति निगरानी बढाए पनि नदीजन्य पदार्थको चोरीनिकासी रोकिएन, दिउँसो भन्दा राति राति तस्करी हुन थाल्यो’ उनले भने, ‘ प्रोत्साहन रकम उपलब्ध गराएपछि प्रहरीको क्रियाशिलता बढ्ने र नदीजन्य पदार्थको अवैध ओसारपसार नियन्त्रण हुने हाम्रो विश्वास छ ।’
स्रोतसाधनको अभावमा प्रहरीलाई नियमित गस्ती गर्न समेत समस्या भएको बुझिएपछि प्रोत्साहन भत्ताको अवधारणा ल्याएको उनले बताए । ‘कोही चौकीका प्रहरीहरु बाइकमा पेट्रोल हाल्ने पैसा पनि छैन भन्नुहुन्छ’ थापामगरले भने, ‘राइनास चौकीलाई त, त्यही बाइक पनि रहेनछ, मैले सिडिओ र एसपी सापसँग कुरा गरेको छु, बाइक भयो भने प्रोत्साहन रकमले पेटूोल हाल्न त पुग्छ कि ?’
अवैध रुपमा नदिजन्य पदार्थको ओसारपसार गर्नेबाट अधिकतम ४० हजार रुपैयासम्म जरिवाना लिने गाऊँपालीकाले यसअघिनै निर्णय गरिसकेको छ । तर अवैध उत्खनन र ओसारपसार नियन्त्रण मा नआएपछि प्रहरी परिचालनलाई थप गतिशिल बनाउन लागिएको अध्यक्ष थापामगरले बताए । नियन्त्रणमा लिइएको सवारी साधनलाई प्रहरीले कारवाहीका लागि गाऊँपालीकामा पठाउने छ । गाऊँपालीकाले जरिवाना तिराईसकेपछि त्यसको १५ प्रतिशत रकम सम्बन्धित प्रहरी चौकीलाई दिइने उनले बताए ।
शहिद लखनले ढुवानीमा प्रयोग हुने सवारी साधनको आकार अनुसार २० देखि ४० हजार रुपैयासम्म जरिवाना लिने गरेको छ ।
यस बाहेक जफत भएको नदिजन्य पदार्थमा प्रतिघनमिटर १५ शय रुपैयाका दरले थप जरिवाना गराइँदै आइएको प्रमुख प्रशासकीय अधिकृत जीवन आलेमगरले बताए ।
सो गाऊँपालीका अन्तर्गत वडा नम्वर ९ को नामजुङ क्षेत्रबाट बढी मात्रामा नदिजन्य पदार्थको अवैध ओसारपसार हुने गरेको छ ।
सो वडाको बुंकोटघाटबाट अवैध रुपमा वालुवा बोकेको एक टिूपरलाई बुंकोट प्रहरी चौकीले केही साता अघि नियन्त्रणमा लिएको थियो । अवैध ओसारपसारमा संलग्नबाट ५५ हजार रुपैया जरिवाना तिराइएको आलेमगरको भनाई छ । तर अझै पनि नदिजन्य पदार्थको अवैध उत्खनन नरोकिएको उनले बताए ।
‘हामी पटक पटक अनुगमनमा गएका पनि छौं, अनुगमन टोली गएपनि अवैध उत्खनन गर्नेहरु भाग्छन्’ उनले भने, ‘विशेष गरि रातको समयमा अवैध उत्खनन हुने गरेको छ, प्रहरीको सक्रियता बढेमा नियन्त्रण गर्न सक्छौं भन्ने विश्वास छ ।’ बूढीगण्डकी जलविद्युत आयोजना ले मुआब्जा दिएको क्षेत्रबाट बढीजसो अवैध उत्खनन र ओसारपसार हुने गरेको राइनास प्रहरी चौकीले जनाएको छ ।
प्रदेश सरकारले बनाएको कार्य विधि अनुसार शहिद लखनले पनि नदिजन्य पदार्थ उत्खननको ठेक्का प्रक्रिया अघि बढाएको छ ।
हाल सम्म वडा नम्वर ३ को भूतेरह घाटको मात्रै ठेक्का लागेको छ । बुंकोटघाट, लूदीखोला, ठेउवाटारको माथिल्लोघाटमा प्रारम्भिक वातावरणीय परिक्षण लगायतको काम सकिएपनि ठेक्का लाग्न बाँकी छ ।
ठेक्का नलाग्दै तस्करले चोरी निकासी गर्न थालेपछि नियन्त्रणको नयाँ उपाय खोजिएको गाऊँपालीका अध्यक्ष रमेश थापामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्