| आइतवार, कार्तिक २२, २०८३

धादिङमा २ जना गोठाला सहित २ सय भेडाबाख्रा पुरिए

धादिङ जिल्लाको रुवीभ्याली-४ हिन्दुङमा आइतबार बिहान पहिरोले ओडार पुरेपछि २ जना गोठाला सहित २ सय भेडाबाख्रा पुरिएका छन् ।
शुक्रवारदेखि परेको हिमपातका कारण गोठ पुरिएपछि गोठालाहरू नजिकैको ओडारमा गएका थिए। ओडारमा पुरिनेहरूमा १७ वर्षीय धनबहादुर तामाङ र उनका ४२ वर्षीय भिनाजु नुर्बु तामाङ रहेको प्रहरीले जनाएको छ। आइतबार बिहान ४ बजे सुतेकै बेला पहिरोले ओडार भत्काएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाउनसाथ सेर्तुङबाट प्रहरी हिँडेको छ। उक्त ठाउँमा पुग्न करिब ५ घण्टा समय लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उद्धारका लागि सहायक प्रजिअ धोलकराज ढकालको नेतृत्वमा हेलिकप्टर पठाउन लागिएको प्रजिअ भगिरथ पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्