| सोमवार, कार्तिक २३, २०८३

बहिरा विद्यार्थीलाई प्राविधिक शिक्षा

दरौंदी ः शिक्षा मन्त्रालयले गोरखाको मनकामना बहिरा माध्यमिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालन गर्ने भएको छ । बहिरा बालबालिकामात्रै अध्ययन गर्ने सो विद्यालयमा प्राविधिकधार अन्तर्गत कम्युटर शिक्षाको पठनपाठन गराउने मन्त्रालयले तयारी गरेको हो । हालै विद्यालयको निरिक्षणपछि प्राविधिक कक्षा सञ्चालन को सम्भावनाबारे प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद सिटिईभिटिसँग कुरा गरिसकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । बहिरा लगायत अपाङगता भएका बालबालिकालाई पनि अनिवार्य शिक्षामा समेट्नु पर्ने भन्दै उनले उनीहरुको क्षमता अनुसारको प्राविधिक शिक्षा दिनु जरुरी रहेको बताए । विद्यालय निरिक्षणका क्रममा विद्यालय ब्यवस्थापनले प्राविधिक धारको कक्षा सञ्चालन, विद्यालयको कम्पाउण्ड निर्माण, शिक्षक दरवन्दी थप लगायतका विषयमा मन्त्री पोखरेलको ध्यानाकर्षण गराएका थिए । एक शय १९ बहिरा बालबालिका पढ्ने सो विद्यालयमा १६ जना कर्मचारी छन् । सरकारी दरवन्दीमा भने १३ शिक्षक कार्यरत छन् । त्यसमध्ये माध्यमिक तहमा भने एउटा मात्रै दरवन्दी रहेकाले पठनपाठनमा समस्या परेको प्रधानाध्यापक अनिल अंगाईले जानकारी दिए । धेरैजसो प्राथमिक तहको दरवन्दीका शिक्षकलेनै माध्यमिक तहसम्मको पठनपाठन गराउनु परेको विषयमा मन्त्रीको ध्यानाकर्षण गराइएको उनको भनाई छ । प्राविधिकधारको कक्षा सञ्चालनसँगै अन्य सहयोग गर्ने पनि मन्त्री पोखरेलले आश्वासन दिएका प्रधानाध्यापक अंगाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्